जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले आफू राजनीतिक रूपमा सक्रिय रहँदै जनताको अधिकारका लागि संघर्ष जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले संसदीय पदको राजनीतिबाट टाढा रहने तर राजनीतिबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट पारेका हुन्। उनले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु।”
उनका अनुसार अब आफू संसदीय पदमा केन्द्रित नहुने भए पनि सिद्धान्त, एजेण्डा र जनताको अधिकारका लागि सक्रिय रहनेछन्। “राजनीतिमा सक्रिय रहँदै आफ्नो एजेण्डालाई अगाडि बढाउँदै जनताको सेवामा रहनेछु,” उनले बताएका छन्।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको थियो। सो निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो। प्रत्यक्षतर्फ राउत आफैं निर्वाचित भएका थिए भने समानुपातिक प्रणालीमार्फत पनि थप पाँच सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ मा सम्पन्न पछिल्लो निर्वाचनमा जनमत पार्टीले अपेक्षित सफलता पाउन सकेन। सप्तरी जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राउत रामजी यादव सँग पराजित भए। पार्टीका अन्य प्रत्यक्ष उम्मेदवारले पनि जित हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाउन सकेन।
यस परिस्थितिपछि राउतले संसदीय राजनीतिबाट टाढा रहने निर्णय गरेको बताएका छन्। यद्यपि उनले पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयारी गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
राउतले आफू जनताको बीचमै रहेर अधिकार र पहिचानको आन्दोलनमा निरन्तर सक्रिय रहने पनि बताएका छन्।
राउतले जनमत पार्टीको अध्यक्ष आफूले व्यक्तिगत चाहनाले नभई परिस्थितिका कारण बन्नुपरेको दाबी गरेका छन्। उनका अनुसार पार्टी गठन गर्दा अन्य नेताहरूलाई अध्यक्ष बन्न आग्रह गरिएको थियो।
उनले लेखेका छन्, “जनकपुरमा नरेन्द्र प्रसाद चौधरी सहितका साथीहरूलाई पटक–पटक अध्यक्ष बन्न आग्रह गरें, तर उहाँहरूले नमानेपछि बाध्य भएर म आफैं अध्यक्ष बन्नुपरेको थियो।”
राउतले आफूले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि बताएका छन्। २०७९ मा चुनाव जितेका उनी पछिल्लो निर्वाचनमा भने पराजित भएका थिए।