३ चैत्र, काठमाडौँ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको होटल रोयल टुलिपमा मंगलबार र बुधबार सञ्चालन हुने यस कार्यक्रममा प्रत्यक्षतर्फका १२५ र समानुपातिकतर्फका ५७ गरी कुल १८२ सांसद सहभागी छन् ।
निर्वाचन सम्पन्न भएसँगै संसदीय गतिविधि, कानुन निर्माण प्रक्रिया र पार्टीको नीतिगत दृष्टिकोणमा एकरूपता ल्याउन रास्वपाले यो प्रशिक्षण आयोजना गरेको हो । कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिसहितका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
रास्वपाले आफ्ना सांसदहरूका लागि प्रशिक्षण अवधिभर कडा आचारसंहिता लागू गरेको छ। महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोनको प्रयोग र फोटो खिच्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई भेट्न र आमन्त्रण गर्न समेत रोक लगाइएको छ। सांसदहरूलाई पूर्ण एकाग्रताका साथ प्रशिक्षणमा सहभागी गराउन यस्तो नियम बनाइएको पार्टीले जनाएको छ ।
प्रशिक्षण विभाग प्रमुख विपिन आचार्य र कानुन विभाग प्रमुख सोबिता गौतमका अनुसार पहिलो दिन सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माणको जटिल प्रक्रिया र संवैधानिक जिम्मेवारीबारे सुसूचित गराइनेछ । दोस्रो दिन योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कारका विषयमा प्रशिक्षण दिने कार्यतालिका छ ।
प्रवक्ता मनिष झाका अनुसार सांसदहरूलाई प्रशिक्षण दिन संसदीय अभ्यासका जानकार, संविधानविद्, अर्थविद् र परराष्ट्रविद्हरूलाई आमन्त्रण गरिएको छ । विशेष गरी पहिलो पटक सदनमा प्रवेश गरेका सांसदहरूलाई जनमतसँग गरिएको ‘करार’ र पार्टीको बाचापत्रअनुसार कसरी भूमिका निर्वाह गर्ने भन्नेबारे स्पष्ट पारिनेछ ।
कार्यक्रमको पहिलो दिन वरिष्ठ नेता र उपसभापतिले औपचारिक उद्घाटन गर्ने कार्यतालिका रहेको छ। दुई दिने आवासीय प्रशिक्षणको समापन समारोहलाई भने सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । पार्टीले आफ्ना सांसदहरूमाझ समान बुझाइ कायम गर्न र संसदीय मोर्चामा प्रभावकारी उपस्थिति जनाउन यस अभिमुखीकरणलाई महत्त्वपूर्ण मानेको छ ।