अमेरिकाका सैन्य अधिकारीहरूले इरानसँग जारी युद्धका क्रममा अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र २ सय जना घाइते भएका बताएका छन्।
अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोनरक्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
इरानका अनुसार इजरायल–अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।
इरानी ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी ९एचआरएएनए० का अनुसार इरानमा मारिएकामध्ये १ हजार ३५१ सर्वसाधारण र १ हजार १२६ जना सैन्य कर्मचारी छन्।
यस्तै लेबननमा हालसम्म ८८६ जनाको मृत्यु भइसकेको लेबननी स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकमा ६७ महिला र १११ बालबालिका पनि छन्।
संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत, साउदी अरेबिया, बहराइन र ओमानले पनि युद्धमा मानिसको मृत्यु भएको बताएका छन्।
इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनका कारण अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ। मारिएकामा २ जना सैनिक र ५ जना सर्वसाधारण छन् भने विभिन्न देशका १४५ जना घाइते पनि भएका छन्।
मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन्।
सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति गरेको बताइएको छ।
अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्यांकमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो।
फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको थियो तर त्यहाँ कुनै मानवीय क्षति भएको छैन।
यूएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ।