पर्सामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज कुमार चौधरीसँग जोडिएको घटनालाई लिएर संयुक्त रूपमा निष्पक्ष अनुसन्धानको माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी पर्साको आयोजनामा चैत्र ३ गते बसेको सर्वदलीय बैठकपछि जारी प्रेस विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै चौधरीलाई एक असल, मिलनसार र सक्रिय राजनीतिक अगुवाका रूपमा चित्रण गरिएको छ।
विज्ञप्तिअनुसार २०८२ फागुन १९ गते साँझ वीरगन्ज फर्किने क्रममा सुरक्षा जाँचका बेला चौधरी सवार गाडीको डिकीबाट संकास्पद वस्तु फेला परेको भन्दै उनलाईसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, १६ दिनसम्मको अनुसन्धानपछि पनि उक्त वस्तुको प्रकृति, कसले राख्यो र किन राखियो भन्ने विषय अझै अस्पष्ट रहेको भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन्।
राजनीतिक व्यक्तित्वसमेत रहेका उम्मेदवारले आफ्नै गाडीमा विस्फोटक सामग्री बोकेर हिँड्नु अस्वाभाविक देखिने उल्लेख गर्दै विज्ञप्तिमा घटनामा षड्यन्त्रको आशंका गरिएको छ। साथै घटनाको भोलिपल्ट अर्को स्थानमा भेटिएको वस्तुसँग जोडेर विषयलाई थप जटिल बनाउने प्रयास भइरहेको संकेत पनि गरिएको छ।
दलहरूले अनुसन्धान लम्ब्याएर मनोवैज्ञानिक दबाब सिर्जना गर्दै निर्दोष व्यक्तिलाई फसाउने प्रयास हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले ढिलाइ नगरी निष्पक्ष छानबिन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। “ढिलो गर्नु न्याय नदिनु सरह हो,” भन्दै विज्ञप्तिमा तत्काल घटना प्रतिवेदन पेश गर्न आग्रह गरिएको छ। साथै, आफ्नो सदासयतालाई कमजोरी नठान्न चेतावनी दिँदै आवश्यक परे थप कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाली काँग्रेसका रामनारायण कुर्मी, नेकपा ९एमाले० का सुन्दर कुर्मी, जसपा नेपालका रामनरेश यादव, जसपाका तबरेज अहमद, जनमत पार्टीका ओमप्रकाश सर्राफ, प्रलोपाका अभिताभ बचन दास, राप्रपाका पन्नालाल पटेल, राष्ट्रिय जनमोर्चाका हिमाल चन्द्र गौतम, वैज्ञानिक समाजवादी पार्टीका धनबहादुर श्रेष्ठ, पिपुल फस्ट पार्टीका बिरेन्द्र कण्ठ तथा नेपाली कम्युनिष्ट पार्टीका बालगोपाल थापा र रामदरश कुशवाहाले हस्ताक्षर गरेका छन्। यसैबीच, उक्त विषयमा सबै दलका प्रतिनिधिहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेटघाट गरी छलफल गरेका छन्। छलफलमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतको उपस्थिति रहेको थियो।