वीरगन्ज ,५ चैत । लामो समय देखि जिर्ण रहेकोे नारायणी रंगशालाको प्याराफिटको पुन निर्माण कार्यको बिहीबार शिलान्यास भएको छ ।
मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले एक कार्यक्रम बीच प्याराफिटको पुन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै उनले प्याराफिटको निर्माण कार्य सम्झौता अनुसार समयसिमामा पूरा गर्न बिश्वास व्यक्त गरेका हुन् ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनको कारण काम केहि ढिलो गरेर सुरु भएको हो ।
सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
जसमा रंगशालाको ब्लक ञसिुको प्याराफिट निर्माणको लागि काठमाडौको अन्कुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजारमा भ्याट बाहेक ठेक्का साकार गरेपछी काम सुरु भएको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै रंगशालामा बजेट हालेको र त्यहि बजेट हाल निकासा भएर आएपछी रंगशालाको पुर्णर्निर्माणको काम सुरु गरिएको हो ।
रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको इन्जिनियर यादवले सुनाए ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको साहले सुनाए।
काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन् ।
यहाँका खेलप्रेमी र खेलाडीहरुले रंगशाला मर्मत तथा पुर्न निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमुलक आन्दोलन पनि गर्दै आएका थिए । संघीय र प्रदेश संसद बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक पटक आवाजपनि उठाउँदै आएका थिए ।
तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।
यो रंगशलामा करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको थियो । तर मर्मत सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन ।