७ चैत, वीरगञ्ज । मुस्लिम समुदायको महान् पर्व ईद (ईद–उल–फित्र) आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । एक महिना लामो कठोर व्रत (रोेजा) पूरा गरी आत्मसंयम र अनुशासनको साधनापछि मुस्लिम धर्मावलम्बीहरूले आज आपसमा खुसीयाली साटासाट गर्दै यो पर्व मनाइरहेका हुन् ।
बिहानै सफा र नयाँ कपडा लगाएर इदगाह वा मस्जिदहरूमा भेला भई सामूहिक नमाज अर्पण गरेपछि मुस्लिम समुदायले एकअर्कालाई अङ्गालो हालेर ‘ईद मुबारक’ भन्दै शुभकामना साटासाट गरेका छन्। रिस, राग र द्वेषलाई बिर्सेर आपसी सद्भाव, भाइचारा र मेलमिलाप कायम गर्नु नै यस पर्वको मुख्य विशेषता हो ।
धार्मिक मान्यताअनुसार ईद–उल–फित्र आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो। नमाजपछि मान्यजनबाट आशीर्वाद लिने र मिष्टान्न परिकार, विशेषगरी ‘सेवई’ खाएर र खुवाएर यो पर्व मनाउने गरिन्छ। यस अवसरमा गरिने ‘जकात’ (दान) र सहयोगको परम्पराले समाजका असहाय, गरिब र विपन्न वर्गप्रति करुणा र सहानुभूति जगाउँदै सामाजिक न्याय कायम गर्न मद्दत पुर्याउँछ ।
ईद केवल धार्मिक पर्व मात्र नभएर सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको उत्कृष्ट उदाहरण पनि हो। सामूहिक नमाज र इफ्तारका कार्यक्रमहरूले समुदायमा एकता र सहअस्तित्वको भावनालाई बलियो बनाउँदछन् । धर्मको मूल उद्देश्य मानवता भएको सन्देश दिँदै यस पर्वले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ।
कुनै पनि धर्मले विभेदलाई स्वीकार नगर्ने र त्याग, पवित्रता एवं अहिंसालाई प्रोत्साहन गर्ने हुँदा ईदले सभ्य समाज निर्माणका लागि सदाचार र समन्वयको मार्ग प्रशस्त गरेको छ। यस पर्वले भाइचारा र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।