वीरगञ्ज — चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहट जिल्लाका इँटा उद्योगहरूमा ठूलो क्षति पुगेको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इँटा वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।
रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल इँटा उद्योगका सञ्चालक रामविनोद साहका अनुसार जिल्लामा सञ्चालनमा रहेका करिब ५० वटा इँटा उद्योगहरू यस विपद्बाट प्रभावित भएका छन्। संकलित तथ्यांकअनुसार विभिन्न उद्योगहरूमा गरी १० लाखभन्दा बढी काँचो इँटा पूर्ण रूपमा नष्ट भएका छन्।
वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इँटा उद्योगमा मात्रै ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिए। त्यसैगरी बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकीलगायत अन्य उद्योगहरू पनि नराम्ररी प्रभावित भएका छन्।
एउटा काँचो इँटा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ। तर सुकाउने प्रक्रियामै रहेका इँटा वर्षाले नष्ट गरेपछि व्यवसायीहरूको करोडौँ लगानी माटोमा मिलेको छ।
अध्यक्ष साहले गुनासो गर्दै भने, “हाम्रो लगानी डुब्न लाग्दा पनि सरकार, स्थानीय प्रशासन वा वित्तीय निकायले कुनै चासो देखाएका छैनन्। हामीले बिमा प्रणाली लागू गर्न पटक–पटक आग्रह गरेका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन।”
प्राकृतिक प्रकोपबाट हुने यस्ता क्षति न्यूनीकरणका लागि काँचो इँटाको पनि बिमा व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको माग छ। बिमा सुविधा नहुँदा हरेक वर्ष ठूलो जोखिम मोल्नुपरेको उनीहरूको भनाइ छ।
यतिबेला प्रभावित उद्योगीहरूले सरकार, उद्योग मन्त्रालय, विपद् व्यवस्थापन निकाय तथा बिमा कम्पनीहरूलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन सुरक्षा उपाय अवलम्बन गर्न आग्रह गरेका छन्।