वीरगञ्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ दिँदै छन् ।
चैत शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो पर्वलाई ‘सँझिया घाटे’ पनि भनिन्छ । व्रतालुहरू नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा तयार पारिएका छठ घाटमा पुगेर सूर्य भगवान् र छठी मातालाई अर्घ दिने छन् ।
वीरगञ्जको घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैया, म्रुलीलगायतका प्रमुख छठ घाटहरूमा आज साँझ ठुलो सङ्ख्यामा व्रतालुहरूको उपस्थिति रहने छ ।
अर्घका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिँगडा, उखु लगायतका फलफूल तथा प्रसादहरू तयार पारिएको छ ।
छठ पर्वको अन्तिम दिन भोलि बुधवार बिहान व्रतालुहरूले छठ घाटमै पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा विधिवत् रूपमा समापन हुनेछ ।
चैती छठ पर्व आइतबार ‘नहाय खाय’ विधिबाट सुरु भएको थियो । सोमबार ‘खरना’ विधि सम्पन्न गरेका व्रतालुहरूले मंगलबारदेखि निराहार व्रत जारी राखेका छन् ।
सत्य, अहिंसा र सबै प्राणीप्रतिको सहानुभूति जगाउने तराई–मधेसको महान् चाड छठ वर्षमा दुई पटक ९कात्तिक र चैत० मनाउने गरिन्छ । पछिल्लो समय चैती छठ मनाउनेहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।