वीरगञ्ज — पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुले वीरगञ्जस्थित नारायणी अस्पतालमा देखिएको बेथिती र अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालसँग छलफल गरेका छन्।
मंगलबार प्रजिअ दाहालको कार्यकक्षमा भएको छलफलमा सांसद कानुले अस्पतालमा बिचौलिया तथा दलालहरूको गतिविधि बढ्दो क्रममा रहेको र यसले बिरामीलाई प्रत्यक्ष असर पुर्याइरहेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि कडा कदम चाल्न आग्रह गरे। उनले डाक्टरहरूले बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने, एम्बुलेन्स चालकमार्फत दलाली हुने जस्ता गैरकानुनी क्रियाकलाप बढ्दै गएको बताएका छन्।
सांसद कानुले सरकारी अस्पतालमा चिकित्सक समयमै नआउने तथा पूरा ड्युटी नबस्ने प्रवृत्तिले सेवाग्राही मारमा परेको उल्लेख गर्दै नियमित अनुगमन र कडाइ आवश्यक रहेको बताए।
यसैबीच, उनले छठ पर्वका बेला छठघाट आसपास माछा–मासु बिक्री हुँदै आएकोप्रति आपत्ति जनाउँदै धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्न तत्काल रोक लगाउन माग गरेका छन्।
छलफलमा गर्मीयामसँगै बढ्ने आगलागी तथा अन्य विपद् व्यवस्थापनका तयारीबारे पनि चर्चा गरिएको थियो। सांसद कानुले दमकल, पानीका स्रोत, उद्धार टोली तथा आवश्यक उपकरणको पर्याप्त व्यवस्थापन गर्न जोड दिएका छन्।
प्रजिअ दाहालले सांसदको ध्यानाकर्षणलाई सकारात्मक रूपमा लिँदै आवश्यक अनुगमन, समन्वय र कारबाही अघि बढाइने प्रतिबद्धता जनाए।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुधिर पटेल, मुर्ली जलान, क्षेत्रीय सभापति फैयाज मिया र प्रकाश साहलगायतको उपस्थिति रहेको थियो।