चैत्र १०, वीरगंज — होटल संघ पोखरा नेपाल द्वारा सञ्चालित ‘जाऔं है पोखरा’ अभियान अन्तर्गत वीरगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियान नेपाल पर्यटन बोर्ड तथा गण्डकी प्रदेश पर्यटन प्रवर्द्धनको सहकार्यमा पूर्वी नेपालका विभिन्न शहरहरूमा विस्तार गरिएको हो।
अभियानको उद्देश्य आन्तरिक पर्यटकको संख्या वृद्धि गर्दै पोखरा लाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु रहेको आयोजकले जनाएको छ।
वीरगञ्जस्थित होटल मकालुमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा ले पर्यटन क्षेत्रको दिगो विकासका लागि राज्य, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए। उनले पर्यटन क्षेत्रका समस्या पहिचान गरी योजनाबद्ध रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले पर्यटकहरूले भोगिरहेका विभिन्न समस्याहरू—सेवा–सुविधाको अभाव, व्यवस्थापन कमजोरी, यातायात तथा सूचना पहुँचमा कठिनाइ—बारे पनि गुनासा राखेका थिए। आयोजक पक्षले ती समस्याहरूलाई गम्भीरतापूर्वक लिएर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
त्यसैगरी, अशोक तिवारी, केसी लामिछाने, पूर्व मन्त्री ओमप्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष अनिल अग्रवाल तथा पर्सा अध्यक्ष हरि गौतम लगायतले पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे।
पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाह्य पर्यटक आगमन घटेको अवस्थामा आन्तरिक पर्यटन सुदृढ बनाउन अभियान सञ्चालन गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई तथा स्थल कनेक्टिभिटी विस्तार हुँदै गएको र यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा होटल व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पर्यटक भित्र्याउन आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।
लक्ष्मण सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजकले सुरक्षित र शान्त वातावरणमा पोखरा भ्रमण गर्न सबैलाई आग्रह गर्दै ‘जाऔं है पोखरा’ अभियानलाई सफल बनाउन सहयोग गर्न अपिल गरेको छ।