अमेरिका र इजरायलका मिडिया संस्थानहरूले, नाम नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै, वाशिङ्टनले युद्ध अन्त्यका लागि इरानलाई १५ बुँदे योजना पठाएको रिपोर्ट गरेका छन् ।
The Wall Street Journalले पनि यस्तै अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, उक्त योजनामा इरानले आफ्ना तीन प्रमुख आणविक केन्द्रहरू विघटन गर्नुपर्ने र इरानी भूमिमा हुने कुनै पनि युरेनियम समृद्धि (enrichment)कार्यक्रम अन्त्य गर्नुपर्ने उल्लेख छ । साथै, तेहरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम स्थगित गर्नुपर्ने, प्रोक्सी समूहहरूलाई दिँदै आएको समर्थन कम गर्नुपर्ने र Strait of Hormuz पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउनुपर्ने प्रस्ताव गरिएको छ ।
यसको बदलामा इरानमाथि लगाइएका आणविकसम्बन्धी प्रतिबन्धहरू हटाइने र अमेरिकाले इरानको नागरिक (सिभिलियन) आणविक कार्यक्रममा सहयोग गर्ने जनाइएको छ ।
The New York Times का अनुसार यो योजना पाकिस्तानमार्फत इरानलाई पठाइएको हो र यसले इरानको आणविक तथा ब्यालिस्टिक मिसाइल कार्यक्रमसँगै होर्मुज जलडमरूमा केन्द्रित विषयहरू समेटेको छ । साथै, पाकिस्तानका सेना प्रमुखSyed Asim Munir अमेरिका र इरानबीचको मुख्य मध्यस्थकर्ताका रूपमा देखिएका छन् ।
इजरायलकोChannel 12 ले तीन स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, अमेरिकाले १५ बुँदे योजनामाथि छलफल गर्न एक महिनाको युद्धविराम चाहेको छ । उक्त योजनामा इरानको आणविक कार्यक्रम विघटन, प्रोक्सी समूहहरूलाई समर्थन बन्द गर्ने र होर्मुज जलडमरू पुनः खोल्ने विषय समावेश छन् ।
Reuters का अनुसार, यस विषयमा जानकार एक स्रोतले अमेरिकाले इरानलाई योजना पठाएको पुष्टि गरेका छन् । तर, यस योजनाबारे अमेरिका वा इरान दुवै पक्षबाट आधिकारिक टिप्पणी भने आएको छैन ।
एकातिर अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता भइरहेको समेत बताइरहेको छ भने अर्कोतर्फ पश्चिम एसियामा सेना परिचालन पनि बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हाल अमेरिकाले तीन हजार सेना पश्चिम एसियामा पठाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको फेरि दोहोर्याएका छन् । तर इरानीपक्षले भने कुनै वार्ता नभएको बताएको छ । पाकिस्तान, टर्की, ओमान र इजिप्टले मध्यस्तताको पहल गरिरहेको समेत समाचारहरू आएका छन् ।