वीरगञ्ज– सर्लाही जिल्लाका विभिन्न सीमावर्ती नाकाहरू हुँदै अवैध तस्करीका गतिविधि तीव्र बन्दै गएको छ। पछिल्लो समय नेपाली तथा भारतीय सामानहरू चोर बाटो प्रयोग गरी ठूलो परिमाणमा नेपाल–भारत सिमाना हुँदै ओसारपसार भइरहेको पाइएको छ।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक लाखौं रुपैयाँ बराबरका सामान तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूका अनुसार तस्करीका गतिविधि विशेषगरी राति र बिहानको समयमा बढी हुने गरेको छ।
यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ५१औँ बटालियनले हनुमाननगर नाकाबाट ठूलो परिमाणमा तस्करीका सामान नियन्त्रणमा लिएको छ। एसएसबीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरिएको ३,५१५ केजी चिनियाँ स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
सीमावर्ती क्षेत्रका बासिन्दा तथा सुरक्षा निकायले अवैध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीहरूले अझ सक्रिय र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।