राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह को शपथग्रहण समारोह चैत १३ गते शुक्रबारका लागि तय गरिएको छ। प्राप्त जानकारी अनुसार मध्याह्न १२ बजेर ३४ मिनेटको साइतमा उनले प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ। बालेननिकट स्रोतका अनुसार सो समयका लागि प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइएको थियो र उक्त प्रस्तावअनुसार नै कार्यक्रम आयोजना गरिने सहमति बनेको जनाइएको छ। शपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच सम्पन्न हुने छ, जहाँ उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
शपथग्रहण सम्पन्न भएसँगै बालेन्द्र शाहले दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबार पुगेर औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। यससँगै नयाँ सरकारको कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ। यसपटकको शपथग्रहण समारोहलाई विशेष बनाउने गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समेत समावेश गरिएको छ। कार्यक्रमका क्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकहरूद्वारा स्वस्तिवाचन गरिने कार्यक्रम तय गरिएको छ। त्यस्तै, १६ जना भिक्षुहरूले अष्टमंगल पाठ गर्ने व्यवस्था मिलाइएको बालेननिकट स्रोतले जनाएको छ।
समारोहलाई धार्मिक, सांस्कृतिक र परम्परागत विधिहरूको समिश्रणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ, जसले नेपाली समाजको विविध सांस्कृतिक पहिचानलाई झल्काउने विश्वास गरिएको छ। शपथग्रहण कार्यक्रमलाई व्यवस्थित, भव्य र ऐतिहासिक बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको स्रोतले जनाएको छ।
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेसँगै मुलुकको राजनीतिक परिदृश्यमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। नागरिकस्तरबाट उठेको नेतृत्वका रूपमा चिनिएका शाहले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने संकेत यसअघि नै दिइसकेका छन्। यसैबीच, शपथग्रहण समारोहलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिने र ट्राफिक व्यवस्थापनलाई समेत व्यवस्थित बनाइने सरकारी निकायहरूले जनाएका छन्। राजधानी क्षेत्रमा आवश्यक तयारीहरू तीव्र गतिमा अघि बढाइएको छ।