१४ चैत, काठमाडौँ । ‘जेनजी आन्दोलन’ दमनको आरोपमा शनिबार एकाबिहानै पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।
शनिबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धानका लागि म्याद थप गर्न आइतबार मात्रै अदालत पेस गर्ने तयारी प्रहरीले गरेको हो ।
प्रहरी स्रोतका अनुसार दुवै नेताहरूलाई सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ लगिनेछ र त्यहाँबाट कानुनी प्रक्रिया पूरा गरी म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइनेछ । फौजदारी कसुरको अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई हिरासतमा राख्न अदालतसँग अनुमति माग्नेछ ।
प्रचलित कानुनी प्रावधानअनुसार गम्भीर प्रकृतिको फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले अभियुक्तलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ ।
यद्यपि, हरेक पटक म्याद थप गर्दा जिल्ला अदालतबाट अनुमति लिनु अनिवार्य हुन्छ । आइतबारको पेसीमा प्रहरीले घटनाको गाम्भीर्यता र प्रमाण सङ्कलनका लागि भन्दै आवश्यक दिनको म्याद माग गर्ने बुझिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा भएको दमन र मानवीय क्षतिबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूमाथि ‘लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरी ज्यान लिएको’ कसुरमा अनुसन्धान भइरहेको छ ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनको निर्णय गरेसँगै दुवै प्रभावशाली नेताहरूलाई शनिबार बिहानै आ-आफ्नो निवासबाट नियन्त्रणमा लिइएको थियो ।
अदालतमा उपस्थित गराइने सूचनासँगै भोलि आइतबार काठमाडौँ जिल्ला अदालत वरपर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने भएको छ । एमाले र कांग्रेसका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ ।