राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को उत्तरपुस्तिका परीक्षण अब सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने निर्णय गरेको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित यो नयाँ व्यवस्था लागू गर्न लागिएको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार छिटो नतिजा प्रकाशन गर्न परीक्षा भएकै केन्द्रमा परीक्षण केन्द्र स्थापना गरी उत्तरपुस्तिका जाँच गरिने भएको हो। एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आवश्यक अवस्थामा मात्र अन्यत्र सारिने व्यवस्था गरिएको छ।
उनका अनुसार जहाँ शिक्षक अभाव छ वा असुरक्षा महसुस हुन्छ, त्यस्ता केन्द्रको उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय एकाइको सहजीकरणमा अन्य सुरक्षित स्थानमा परीक्षण गरिनेछ। अन्य सबै केन्द्रमा भने स्थानीय स्तरमै जाँच प्रक्रिया सञ्चालन हुनेछ।
अघिल्ला वर्षहरूमा गोप्य रूपमा परीक्षण केन्द्र तोक्ने र एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर जाँच गर्ने प्रचलन थियो। यसपटक भने पारदर्शिता र समयमै नतिजा ल्याउने उद्देश्यले नयाँ अभ्यास सुरु गरिएको हो।
यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरे पनि ढिलाइका कारण विद्यार्थीमा मनोवैज्ञानिक दबाब बढ्ने गुनासो आउने गरेको थियो। साथै ब्रीज कोर्सका नाममा अनावश्यक तनाव दिने गतिविधि पनि हुने गरेका थिए। यसलाई ध्यानमा राख्दै मन्त्रालयले ब्रीज कोर्स सञ्चालनमा रोक लगाइसकेको छ।
एसईई परीक्षा तयारी पूरा
राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १९ गतेदेखि एसईई परीक्षा सुरु हुँदैछ। प्रारम्भिक तालिकाअनुसार चैत पहिलो साता परीक्षा हुने भए पनि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका कारण मिति सारिएको हो।
बोर्डले परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको छ। मन्त्री पोखरेलको सहभागितामा प्रदेश तथा जिल्ला तहका अधिकारीसँग भर्चुअल बैठक समेत सम्पन्न भइसकेको छ।
प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने केन्द्राध्यक्ष, कर्मचारी र सुरक्षाकर्मीहरू पनि खटाइसकिएको छ। यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एक केन्द्र जापानमा पनि रहेको छ।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्, जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। बोर्डले एसईईलाई शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।