१८ चैत, काठमाडौं । वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) ले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा कर्मचारी अनुशासन कडा पार्न १४ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
अस्पताल व्यवस्थापन समितिको १६ चैतमा बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार, औषधि उपलब्धता तथा कार्यालय अनुशासनका विषय अनिवार्य रूपमा पालन गर्ने कर्मचारीलाई निर्देशन दिएको छ ।
वीर अस्पतालका निर्देशक ड. दिलीप शर्माले व्यवस्थापनको सोमबार बसेको निर्णय कार्यान्वयनमा आइसकेको बताए । ‘सेवा प्रवाहलाई प्रभावकारी गर्न १४ बुँदे निर्णय गरेको छौं,’ यी निर्णय कार्यावन्यन आइसकेका छन् ।’
शर्माका अनुसार मन्त्रिपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको मार्गचित्र अनुसार स्वास्थ्य क्षेत्रको सेवा सुधार गर्न आवश्यक निर्देशनहरू लागु गर्ने निर्णय गरिएको हो ।
निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू समयमै अस्पतालमा उपस्थित हुनुपर्नेछ । बिना कारण अनुपस्थित हुनेलाई नियमानुसार कारबाहीको सिफारिस गरिने अस्पताल प्रशासनले जनाएको छ । बिहान साढे ९ बजेपछि कार्यालय आउने कर्मचारीलाई गयल मानिने र आधा दिन बिदा काटिने व्यवस्था गरिएको छ । ढिलो हुने अवस्थामा निर्देशकको ह्वाट्सएप समूहमा जानकारी दिनुपर्ने पनि नियम बनाइएको छ ।
यस्तै बिरामीको पुर्जा, प्रयोगशाला रिपोर्ट तथा डिस्चार्ज समरीमा चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल (एनएमसी) नम्बर र हस्ताक्षर स्पष्ट हुनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मी, नर्स तथा चिकित्सकहरूले एप्रोन र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने पनि निर्णय गरिएको डा. शर्माले बताए ।
अस्पतालको सरसफाइ व्यवस्थापन सुदृढ बनाउन संगिता श्रेष्ठको संयोजकत्वमा सरसफाइ अनुगमन समिति गठन गरिएको छ भने कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा। मीन चन्द्र अधिकारी को संयोजकत्वमा हाजिरी अडिट समिति बनेको छ ।
बैठकले २०८३ सालको सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने निर्णय पनि गरेको छ । साथै आगामी वैशाख १ गतेदेखि अस्पतालको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ९जाडोमा ९ देखि ४ बजे० निर्धारण गरिएको छ ।
‘ओटी, क्याथ ल्याब तथा इभिनिङ राउन्डमा खटिने स्वास्थ्यकर्मीलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेका छौं,’ डा। शर्माले भने ।
फार्मेसी सेवामा सुधार गर्दै औषधिको मौज्दात तथा उपलब्धताबारे सेवाग्राहीलाई छिटो र स्पष्ट जानकारी दिने व्यवस्था गरिएको छ ।
‘सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर समूहमा अद्यावधिक गर्नुपर्ने र खटाइएको स्थानमा कर्मचारी नभेटिए सम्बन्धित निकायमा रिपोर्ट गरिने निर्णय गराइएको छ,’ डा. शर्मा भन्छन् ।
अस्पताल प्रशासनले कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने पनि स्पष्ट पारेको छ । कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए सम्बन्धित कर्मचारी आफैँ सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ ।
अस्पताल व्यवस्थापनले सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्न सबै स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । बिरामीसँग रुखो व्यवहार तथा लापरवाही कार्यशैली पूर्ण रूपमा बन्द गर्न पनि अस्पतालले कडाइ गरेको छ ।