हिन्दु पत्रकार संघ नेपालको केन्द्रीय समितिको बैठक बुधबार सम्पन्न भएको छ । वीरगन्ज स्थित माईस्थान अतिथी सदनमा बैठक सम्पन्न भएको हो । संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले पछिल्लो बैठकको समिक्षा गर्दै पर्सा जिल्लामा रहका धार्मिक सम्पदाको संरक्षणको लागि नव निर्वाचित सांसदहरु संग वृहत छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले वीरगंजमा यहि शनिबार हुने हनुमान जयन्तीलाई सफल पार्न पनि सहयोग गर्ने निर्णय गरेको छ ।
सांसदसँग मठ–मन्दिरबारे प्रत्यक्ष संवाद
बैठकले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका नवनिर्वाचित सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रममा सांसदहरूको क्षेत्रमा रहेका ऐतिहासिक मठ–मन्दिर, धर्मशाला र धार्मिक स्थलहरूको वर्तमान अवस्था, ती सम्पदाको संरक्षणमा जनप्रतिनिधिको भूमिका र आगामी योजनाबारे विस्तृत छलफल गरिने सचिव राज सराफले जानकारी दिनुभयो।
हनुमान जयन्तीलाई जनउत्सव बनाइने
आसन्न हनुमान जयन्तीलाई वीरगन्जमा ऐतिहासिक र भव्य रूपमा मनाउन जनसहभागिता जुटाउने उद्देश्यले संघले व्यापक प्रचार–प्रसार गर्ने निर्णय गरेको छ। यसका लागि हिन्दुवादी संघ–संस्था र धार्मिक स्थलका पदाधिकारीहरूसँग समन्वय गरी धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइने अध्यक्ष रौनियारले बताउनुभयो।
बैठकमा उपाध्यक्षद्वय विमला गुप्ता र विनोद पटेल, सचिव राज सराफ, कोषाध्यक्ष आनन्द पटेल, सदस्यहरू राकेश साह, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष सराफ, राजु बैठा, अनिल ओझा, रवि वर्णवाल, रश्मि राजभण्डारी र सञ्जय साह लगायतको उपस्थिति रहेको थियो।
धार्मिक र सांस्कृतिक पहिचान जोगाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने निष्कर्ष निकाल्दै बैठकले स्थानीय तहमा रहेका ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलहरूको खोजी र प्रचारमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।