मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन् ।प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन् । बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोले एकजना कांग्रेसबाट र अरु सबै रास्वपाबाटै निर्वाचित हुन् ।
१२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए । बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो । बैठकको सुरुवातमा छलफलको उद्धेश्यबारे प्रधानमन्त्री कार्यालयका असिम शाहले छोटो ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री बालेन शाह बैठक तोकिएको समयमा बैठकमा प्रवेश गरे । ‘बजेटअघि सर्ट टर्ममा गर्न सकिने र अत्यावश्यक कामहरू के–के हुन्, तपाईंहरूले आफ्नो सुझाव राख्नुहोस्,’ सांसदहरुसँग बालेनले भने ।
छलफलमा सहभागी सांसदहरुका अनुसार, बालेनले करिब डेढ मिनेट बजेटअघि आफूले सांसदहरुलाई त्यसमा समेट्नुपर्ने विषयबारे बुझ्न खोजेको बताएपछि सांसदहरुले क्रमशस् आफ्नो भनाई राख्न थाले । छलफलमा सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका समस्याहरू राखेका थिए ।
त्यसतै ,वीरगंजमा संचालनमा रहेका क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेश गराएर जुवा खोलाउने काम भएको प्रति पर्साको क्षेत्र नं १ का साँसद हरि पन्तले प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन । उनले क्यासिनोमा नेपालीको प्रवेश र त्यसबाट वीरगंजेली समाजमा परेको प्रभाव निकै नकारात्मक रहेको भन्दै उनले क्यासिनोको नियमन नभएको भन्दै गुनासो गरेका थिए ।
उनले वीरगंज महानगरपालिकाले आफनो अधिकार क्षेत्र भन्दा बाहिर गएर ठेक्का लगाएर कर संकलनको नाममा अवैध असुली गरिरहेको समेत बताएका छन । साँसद पन्तले सिर्सिया नदीमा बढ्दो प्रदूषण तत्काल नियन्त्रण गर्न अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमाभित्र समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
अधिकांश सांसदले दोहोर्याएर उठाएका मुख्य मुद्दाहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सडक–पुल जस्ता पूर्वाधार निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या र कोभिडकालमा बन्द गरिएका साना भन्सार ९छोटी भन्सार० पुनस् खोल्ने तथा सीमा व्यवस्थापनका विषय थिए ।
मिटरब्याज पीडितहरूको समस्या, ऐलानी जग्गा तथा मन्दिररपर्ती जग्गा सम्बन्धी विषय मधेशका सांसदले उठाएका थिए । साथै विकास निर्माणसँग सम्बन्धित हुलाकी राजमार्गको बिषय पनि छलफलमा उठेको थियो । सिडिओ, मालपोतजस्ता कार्यालयमा नागरिकले भोग्नुपरेको सास्ती, प्रदेशस्तरका ठूला भ्रष्टाचारका फाइलहरू छानबिन गर्नुपर्ने माग पनि बैठकमा उठेको थियो ।
त्यत्रा सांसद उपस्थित हुँदा सबैले एकोहोरो आफ्नो भनाई राख्दै गएका थिए । सबै सांसदले दुईदेखि पाँच मिनेटसम्म आफ्नो कुरा राखेका थिए । सबैले आफ्ना माग राखेपछि प्रधानमन्त्री बालेन शाहले अन्त्यमा फेरी छोटो भनाइ राखे ।
सबै सांसदहरूले राखेका कुराहरू सचिवालयले टिपोट गरेको बताउँदै उनले ‘कुन मन्त्रालयको जिम्मेवारीमा पर्छ, त्यहीअनुसार समाधान गर्ने प्रयास गर्छौँ र छोटो अवधिमा गर्न सकिने कामहरू छिट्टै अघि बढाउँछौं’ उनले जनाए ।