बीरगंज २० चैत - बीरगंजमा उद्यमशीलता विकासलाई लक्षित गर्दै ‘SCALEUP NEPAL’’ द्वारा आयोजित ५ दिने इन्टेन्सिभ ट्रेनिङ कार्यक्रम सुरु भएको छ। नेपालका उदीयमान उद्यमीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन उद्देश्य राखिएको उक्त कार्यक्रम २० गतेदेखि २४ गतेसम्म बीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने भएको छ।
कार्यक्रमको संयोजन पिन्की खेतानले गरेकी हुन् भने ‘‘SCALEUP NEPAL’ का संस्थापक अमित अग्रवालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, बीरगंज उद्योग वाणिज्य संघका अनुप अग्रवाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशिष्ट उपस्थिति रहेको थियो। कार्यक्रममा करिब १२० जना उद्यमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा अनुभवी प्रशिक्षक (एक्सपर्ट ट्रेनर)हरूद्वारा सहभागीहरूलाई व्यावसायिक सीप, बजार व्यवस्थापन, नवप्रवर्तन (इनोभेसन) तथा उद्यम विस्तार सम्बन्धी व्यवहारिक तालिम प्रदान गरिँदैछ। कार्यक्रमका प्रमुख अतिथि अशोक टेमानीले आफ्नो मन्तव्य राख्दै आजको प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञानले मात्र सफल उद्यमी बन्न नसकिने उल्लेख गरे। 
उनले भने, “आजको समयमा व्यवहारिक ज्ञान, सीप र अनुभव अत्यन्त आवश्यक छन्। यस्ता तालिमहरूले उद्यमीहरूलाई वास्तविक बजारको चुनौती सामना गर्न सक्षम बनाउँछन्।”
उनका अनुसार उद्यमशीलता विकासका लागि यस्ता कार्यक्रमहरू अपरिहार्य छन् र यसले नयाँ पुस्तालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। 
कार्यक्रमले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँदै आर्थिक गतिविधि वृद्धि तथा रोजगारी सिर्जनामा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।