पर्सा, चैत २१ — ज्ञानदा एकेडेमीले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि एसकेजी का विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा सिनियर केजीबाट कक्षा १ मा उक्लिने विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष समारोह आयोजना गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
समारोहमा प्रमुख अतिथिका रूपमा डा. अजय कुमार यादव र डा. प्रमिला गुप्ता यादवको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा माधुरी महतो सहभागी हुनुभएको थियो। कार्यक्रम विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न भएको हो।
यसैगरी कार्यक्रममा विद्यालयकी उपप्रधानाध्यापिका जागृति मिश्र, शैक्षिक प्रमुख सन्ध्या वशिष्ट तथा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, उत्साह र चुनौती सामना गर्ने क्षमता विकास हुने बताउनुभयो। विद्यालय प्रशासनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गरेको जनाएको छ।
प्रि–प्राइमरी संयोजक मुना रानाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सबै किन्डरगार्टेन शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयका अनुसार हरेक वर्षझैँ यस वर्षको कार्यक्रम पनि उत्साह, हर्ष र उल्लासका साथ सम्पन्न भएको छ।