दाङ, चैत २२ - प्यूठानमा मध्यरात बस्तीमा आगलागी हुँदा एक दर्जन बढी घर गोठ जलेर नष्ट भएका छन्। त्यसमा परी ८२ वटा बाख्रा र ९ वटा गोरु जलेर मरेका छन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरि भट्टराईका अनुसार जिल्लाको ऐरावती गाउँपालिका– १ छेडाघाटका स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तीमा फैलिएको थियो।
आगलागीबाट झन्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको इन्स्पेक्टर भट्टराईले जानकारी दिए।
आगलागीबाट स्थानीय देवानसिंह रानाको फुसले छाएको गोठ, विकास रानाको गोठ, लक्ष्मण रानाको गोठ, इश्वरी रानाको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।
इश्वरीको घर परिवारको भाँडा वर्तन, लत्ता कपडा, खाद्मान्न, तीन वटा गोरु, १५ बाख्रा जलेर मरेका छन्।
त्यस्तै रमेश घर्तीको एउटा घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ।
आगलागीमा परी घर्ती परिवारका ६ वटा बाख्रा मर्नुका साथै भाँडा वर्तन, लत्ता कपडा, आधा तोला सुन र ५० हजार जलेर नष्ट भएको छ।
त्यस्तै स्थानीय ओमबहादुर रेश्मी मगरको एक घर, दुइटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै उनीहरुले पालेका ३३ वटा बाख्रा पनि जलेर मरेका छन् ।
यो परिवारका भाँडा वर्तन, खाद्मान्न, लत्ता कपडा, नगद साढे ७१ हजार जलेर नष्ट भएको छ । स्थानीय भुपाल रोकाको एउटा घर र एउटा गोठ जलेर पूर्ण नष्ट भएको छ ।
उनीहरुले पालेका १८ बाख्रा मर्नुका साथै घरमा रहेको नगद दुई लाख र आधा तोला सुन पनि जलेर नष्ट भएको छ ।
स्थानीय गुमा रजालीको एउटा घर र एउटा गोठ जलेर नष्ट भएको छ। उनीहरुका घरमा लत्ता कपडा, भाँडावर्तन र खाद्यान्न जलेर नष्ट भएको छ । रजाली परिवारले पालेको एउटा बँगुर जलेर घाइते भएको छ ।
आगलागीमा परी स्थानीय बलबहादुर रजालीको एउटा घर र एउटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुँदा लत्ताकपडा खाद्यान्न, भाडाबर्तन सबै जलेर नष्ट भएको छ ।
त्यस्तै झबिन्द्र रजालीको एउटा घर र एक गोठ भाँडा बर्तन , लत्ता कपडा र खाद्यान्न जलेर नष्ट भएको छ ।
स्थानीय घनबहादुर रानाको पनि एउटा घर र एउटा गोठ पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै १५ वटा बाख्रा, २ वटा गोरु र ४ वटा कुखुरा जलेर मरेका छन् ।
देवबहादुर रजालीको एउटा गोठ जलेर नष्ट हुनुका साथै १५ वटा बाख्रा जलेर मरेका छन्।
त्यस्तै स्थानीय डिला रजालीको एक गोठ आगलागीमा परी पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसबाट एउटा बाख्रा जलेर घाइते भएको छ भने दुई गोरु जलेर मरेका छन् ।
मध्यराति पौने १२ बजेतिर रानाको कच्ची गोठबाट फैलिएको आगो बस्तिमा फैलिन थालेको खबर पछि इलाका प्रहरी कायाकलय बिजुवार, प्रहरी चौकी दाङवाङ, जिल्ला प्रहरी कार्यालय प्यूठान बाट प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीसहित ३० जना प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयको सहयोगमका बिहान ७ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागी बाट कुल साढे ९३ लाख बराबरको धनमान जलेर नष्ट भएको जिल्ला प्रहरी प्रवक्ता भट्टराइले जानकारी दिए
मान्छे नबस्ने र गाइ गोरु पनि नबस्ने रित्तो गोठबाट आगो सल्किएको भए पनि आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक भट्टराइले बताए।