वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वास्थ्य र स्वच्छता प्रवर्द्धनका लागि निर्माण गरिएको अत्याधुनिक डिजिटल स्नान तथा शौचालय भवन सोमबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको छ। “स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रअनुसार नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त शौचालय निर्माण गरिएको हो, जसले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज, सुरक्षित र सुविधा सम्पन्न बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि र कर्मचारीहरूको उपस्थिती
उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठक प्रमुख अतिथि थिए। कार्यक्रममा कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरू उपस्थित थिए। उपरीक्षक पाठकले बोल्दै भने, “यस पूर्वाधारले कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमता सुधार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछ।”
भवन निर्माणमा सहयोग पुर्याउने रुङ्गटा वेलफेयर सोसाइटी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र अन्य सहयोगी संस्थाप्रति पाठकले विशेष आभार व्यक्त गरे।
कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती, जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर र राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी, छ्पकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई, आमा नेपाल फाउन्डेसनकी अध्यक्ष प्रबिता मान्धर, युवा नेता सुधिर पटेल र लायन्स क्लबकी प्रिया सिंह लगायतका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
डिजिटल सुविधा र स्वास्थ्यमा योगदान
अध्यक्ष जय प्रकाश खेतानले भने, “प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार अत्यन्त सराहनीय र आवश्यक पहल हो। स्वच्छता र स्वास्थ्य सँगसँगै जोडिएका छन् र आधुनिक डिजिटल सुविधा युक्त शौचालयले दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गर्दछ।” उनले समुदाय र सुरक्षाकर्मीबीच सहकार्य मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
नव(निर्मित भवनले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमता सुधार्न मात्र नभई कार्यालयको वातावरण पनि सुविधा सम्पन्न बनाउने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।