प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले सिंहदरबार प्रवेश गर्दा नागरिक एपमार्फत पास लिनुपर्ने नयाँ नियम लागू नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले उक्त व्यवस्था झन्झटिलो हुने र काममा असहजता आउने भन्दै पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
‘वकिलहरुको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले यस्तो नियम लागू गर्नु उपयुक्त हुँदैन भनेर ध्यानाकर्षण गराएँ,’ उनले भने । उनका अनुसार प्रवेश प्रक्रियामा जटिलता थपिए सेवामा ढिलासुस्ती हुने र सेवाग्राही नै मर्कामा पर्ने अवस्था आउन सक्छ ।नेम्बाङले वकिलहरुको कमीकमजोरी भए सुधार गर्नुपर्ने तर नागरिक एपबाट पास लिएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था हटाएर पुरानै प्रणाली कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
यसअघि कानुन व्यवसायीहरुले नेपाल बार काउन्सिलले उपलब्ध गराउने परिचयपत्रका आधारमा सिंहदरबारसहित अधिकांश सरकारी अड्डा–अदालतमा प्रवेश पाउने व्यवस्था थियो । तर हाल सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।
सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले जारी गरेको सूचनाअनुसार अब कानुन व्यवसायीले नागरिक एपको गेट पासका आधारमा मात्र प्रवेश पाउनेछन् ।
सूचनामा अदालतका पदाधिकारी तथा कर्मचारीले आधिकारिक परिचयपत्र, कानुन व्यवसायीले नागरिक एपको पास, मुद्दाका पक्ष वा वारेसले तारेख पर्चा, र अन्य व्यक्तिले दैनिक इ–पासका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको उल्लेख छ ।
नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले सिंहदरबारभित्रै रहेको अदालत पुग्न समेत पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले प्रतिनिधि सभामा निर्वाचित कानुन व्यवसायीहरुले समेत यस विषयमा पहल गर्ने विश्वास व्यक्त गरे ।