४ वैशाख, जनकपुर । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा सञ्चालित एक खाने तेल उद्योगमा बिहीबार राति भीषण आगलागी भएको छ। जनकपुर रिफाइनरी इण्डष्ट्रिज मा भएको उक्त आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
राति अचानक सुरु भएको आगो नियन्त्रणमा लिन जनकपुरधाम, महेन्द्रनगर र ढल्केबरबाट पुगेका पाँचवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीका साथै स्थानीय बासिन्दाको झण्डै तीन घण्टा लामो प्रयासपछि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो।
आगलागीका कारण उद्योगको उत्पादन प्रणालीमा ठूलो धक्का लागेको छ। उद्योगका प्रबन्धक सञ्जय गुप्ताका अनुसार तेल प्रशोधनका लागि प्रयोग गरिने मुख्य मेसिनहरू स्टिम र थर्मोफुल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्रारम्भिक अध्ययनअनुसार मेसिन, कच्चा पदार्थ र तयार पारिएको तेल गरी करिब १५ करोड रुपैयाँको क्षति भएको देखिन्छ, प्रबन्धक गुप्ताले भन्नुभयो, इन्जिनियरसहितको टोलीले विस्तृत अध्ययन गरेपछि मात्र क्षतिको वास्तविक आँकडा आउनेछ। उद्योगमा भण्डारण गरिएको कच्चा पदार्थ र बिक्रीका लागि तयार पारिएको तेल समेत डढेर काम नलाग्ने भएको छ।
आगलागी कसरी सुरु भयो भन्नेबारे अझै खुल्न सकेको छैन। प्रहरी निरीक्षक केसीका अनुसार घटनाको प्राविधिक अनुसन्धान भइरहेको छ। आगो नियन्त्रणमा आएलगत्तै हामीले अनुसन्धान सुरु गरेका छौँ, विद्युत् सर्ट भएर वा अन्य कुनै कारणले आगलागी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन, उहाँले बताउनुभयो।
क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ। रातिको समयमा आगलागी भए पनि मानवीय क्षति भने हुन नपाएको उद्योग प्रशासनले जनाएको छ।