प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस अर्थात् जानकी नवमी आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ सम्पन्न गरेपछि विधिपूर्वक खेत जोत्ने क्रममा जनकपुरस्थित एक खेतबाट सीताको उत्पत्ति भएको धार्मिक कथा रामायण लगायत विभिन्न वैदिक ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको छ। यही दिनलाई सीता जयन्तीका अर्थात जानकी नवमीको रूपमा पनि मनाइन्छ।
आजको दिन जनकपुरधामस्थित जानकी मन्दिरसहित देशभरका राम–जानकी मन्दिरहरूमा विशेष पूजा, अर्चना र धार्मिक कार्यक्रम आयोजना गरिएको छ। जानकी मन्दिरमा भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ।
सीतालाई सत्यनिष्ठ, पतिव्रता तथा आदर्श नारीका रूपमा सम्मान गरिन्छ। अयोध्याका राजा दशरथका पुत्र श्रीरामसँग विवाहपछि वनवासमा समेत साथ दिएकी सीताले जीवनका अनेक कठिनाइबीच पनि आफ्नो धर्म र निष्ठा कायम राखेको कथा धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।
रावणद्वारा हरण भएपछि पनि आफ्नो मर्यादा नत्यागेको, साथै अयोध्या फर्किएपछि लोकआलोचनाबाट बचाउन महारानी पद त्यागेर वनवास रोजेको प्रसङ्गले सीतालाई त्याग र आदर्शको प्रतीकका रूपमा स्थापित गरेको छ।
वनवासका क्रममा वाल्मीकि आश्रममा लव–कुशलाई जन्म दिई शिक्षित बनाएको तथा पछि अयोध्या फर्काएर रामायणको कथा सुनाएको प्रसङ्ग पनि उल्लेखनीय छ। अन्ततः आफ्नो पवित्रतामाथि उठेका प्रश्नपछि ‘यदि म पवित्र छु भने धर्तीमाताले मलाई आफ्नो कोखमा लिनुस्’ भन्ने प्रार्थनासँगै पृथ्वीमै विलीन भएको कथा वैदिक ग्रन्थहरूमा पाइन्छ।
सीताको त्याग, धैर्य र आदर्श जीवनबाट प्रेरणा लिँदै आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।