बाँकेको भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपातको प्रयास, दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि तत्काल कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म नियमित सेवामा फर्किन नसकिने उनीहरूको अडान छ।
मंगलबार बिहान करिब साढे १० बजे एक समूह अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीको कार्यकक्षमा प्रवेश गरी हातपातको प्रयास गरेको अस्पताल प्रशासनले जनाएको छ। सोही समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित अन्य चिकित्सकमाथि अपमानजनक व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ।
उक्त घटना बाँकेको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा भएको मृत्यु प्रकरणसँग जोडिएको बताइएको छ। वैशाख ६ गते भर्ना भएकी विकको वैशाख १३ गते मृत्यु भएपछि उपचारप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिहरूले चिकित्सकमाथि आक्रोश पोखेको जनाइएको छ।
अस्पताल प्रशासनका अनुसार घटनापछि इमरजेन्सीबाहेक सबै सेवा स्थगित गरिएको छ, जसले बिरामीहरूको उपचारमा प्रत्यक्ष असर पारेको छ। चिकित्सकहरूले अस्पतालभित्र त्रासको वातावरण सिर्जना भएको भन्दै सुरक्षा बिना काममा फर्कन नसकिने बताएका छन्।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले स्वास्थ्यकर्मीमाथि आक्रमण प्रयास अस्वीकार्य भएको भन्दै कानुनी बाटो अपनाउन सकिने भए पनि हिंसात्मक व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले पनि चिकित्सकहरू त्रासमा रहेको बताउँदै कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।
यसैबीच, प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा चिकित्सक र मृतकका आफन्तबीच छलफल भएको थियो, जसमा कानुनी प्रक्रिया अघि बढाउने र शव पोस्टमार्टमपछि बुझाउने सहमति भएको बताइएको छ। तर सहमति भइसकेपछि पनि आक्रमणको प्रयास भएको चिकित्सकहरूको आरोप छ।
स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ भने अस्पताल परिसरमा तनावपूर्ण अवस्था कायम छ।