वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवा कम्पनीहरूलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रीसमक्ष ध्यानाकर्षण गराउँदै पछिल्लो समय बढ्दो लागतका कारण वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक दबाबमा परेको जनाएको छ।
संघका अनुसार विश्वव्यापी रूपमा कच्चा तेलको मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य अत्यधिक बढेको छ।
संघले २०७९ माघमा भएको जहाज दुर्घटनापछि पर्यटन क्षेत्रमा परेको असर, पर्यटक आगमनमा आएको कमी तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण वायुसेवा कम्पनीहरूको उडान खर्च उल्लेख्य रूपमा बढेको उल्लेख गरेको छ।
यसले कम्पनीहरूको आम्दानी घट्नुका साथै आर्थिक संकट चुलिँदै गएको जनाइएको छ।
संघका अनुसार हवाई इन्धनको लागत वायुसेवा कम्पनीहरूको कुल खर्चको करिब ३० देखि ४० प्रतिशत हुने गरेकोमा अहिले त्यो हिस्सा बढेर ४५ देखि ५० प्रतिशत पुगेको छ।
यस्तो अवस्थाले कम्पनीहरूको सञ्चालनमा गम्भीर असर परेको बताइएको छ।
यस्तै, संघले वायुसेवा कम्पनीहरूबाट उठाउने विभिन्न शुल्कहरू अमेरिकी डलरमा तोकिएको भन्दै ती शुल्क नेपाली रूपैयाँमा निर्धारण गर्न माग गरेको छ।
संघले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, ह्याङ्गर, भाडा लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेको छ।
साथै, २०७५ मा स्वीकृत विमानस्थल सेवा शुल्कसम्बन्धी नियमावली संशोधन गरी हाल डलरमा लिइँदै आएको शुल्क पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
त्यसैगरी, नेपाल औद्योगिक ऐन २०७६ अनुसार हवाई सेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगमा राखिए पनि हालसम्म कुनै ठोस प्रोत्साहन, छुट वा सुविधा नपाइएको भन्दै संघले आयकरमा अन्य विशेष उद्योगसरह २० प्रतिशत कर छुटको व्यवस्था गर्न माग गरेको छ।
वर्तमान जटिल परिस्थितिमा वायुसेवा कम्पनीहरूको सेवा निरन्तरता कायम राख्न तथा यात्रुहरूलाई सहज, सुरक्षित र भरपर्दो सेवा दिन सरकारबाट तत्काल आवश्यक सहुलियत र नीतिगत सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।