वीरगंजको जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त तथा अतिक्रमणमुक्त बनाउन माग गर्दै अभियन्ता ओमप्रकाश सरार्फले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई खुला पत्र लेखेका छन् ।
‘सिर्सिया नदी प्रदूषणरअतिक्रमण मुक्त अभियान’ का अभियन्ता सरार्फले नदीको वर्तमान अवस्था अत्यन्तै भयावह बन्दै गएको उल्लेख गर्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् ।
पत्रमा सिर्सिया नदीमा औद्योगिक ढल, रासायनिक पदार्थ तथा अव्यवस्थित फोहोर मिसाइँदा नदी अत्यधिक प्रदूषित बनेको उल्लेख गरिएको छ । नदी अतिक्रमणका कारण साँघुरिँदै गएको र स्थानीय बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, कृषि उत्पादनमा असर तथा भूजल प्रदूषणको समस्या भोगिरहेको दाबी गरिएको छ ।
सरार्फले सिर्सिया नदीको प्रदूषणले सीमावर्ती भारतीय क्षेत्र रक्सौलसम्म असर परेको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत नकारात्मक प्रभाव पारेको जनाएका छन् ।
खुला पत्रमार्फत उनले उद्योगबाट नदीमा मिसाइने ढल तथा रासायनिक फोहोरमा कडा निगरानी गर्न, नदी सफाइ तथा संरक्षणका लागि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्न, आधुनिक ढल तथा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न र प्रदूषण गर्ने उद्योगमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
त्यस्तै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन, नदी किनारको अतिक्रमण हटाई संरक्षण तथा हरियाली प्रवर्द्धन गर्न र सिर्सिया नदीलाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न विशेष प्याकेज ल्याउनुपर्ने माग पनि पत्रमा गरिएको छ ।
अभियन्ता सरार्फले सिर्सिया नदी संरक्षणका लागि आफूहरूले एक दशकभन्दा बढी समयदेखि आन्दोलन, संघर्ष र सत्याग्रह गर्दै आए पनि समस्या समाधान हुन नसकेको उल्लेख गरेका छन् ।
उनले यसअघि पनि विभिन्न निकायसमक्ष आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गर्दै वर्तमान सरकारको अतिक्रमणविरुद्धको अभियानबाट आफूहरू आशावादी बनेको बताएका छन् ।
पत्रको अन्त्यमा सिर्सिया नदीको संरक्षण केवल वीरगञ्जको मुद्दा नभई जनस्वास्थ्य, वातावरण र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय भएकाले तत्काल ठोस कदम चाल्न सरकारसँग आग्रह गरिएको छ ।
