२३ बैशाख, काठमाडौँ । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन ‘नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)’ ले नयाँ नेतृत्व पाएको छ । महासंघको विधानबमोजिम वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । महासंघको २१औँ अध्यक्षका रूपमा उनले आगामी तीन वर्षका लागि देशभरका ५ लाखभन्दा बढी उद्यमी–व्यवसायीको प्रतिनिधित्व गर्नेछन् ।
को हुन् अध्यक्ष श्रेष्ठ ?
पोखरामा लक्ष्मी मिठाई भण्डारबाट सुरु भएको लक्ष्मी ग्रुपलाई कन्फेक्सनरी, प्याकेजिङ, अटोमोबाइल र स्टिल उद्योगसम्म विस्तार गर्ने मुख्य योजनाकारमध्येका एक हुन् अञ्जन श्रेष्ठ। २०४५ सालदेखि व्यवसायमा सक्रिय श्रेष्ठले लक्ष्मी ग्रुपलाई नेपाली बजारमा बलियो पकड बनाउन सफल भूमिका निर्वाह गरेका छन् ।
अहिले उक्त ग्रुपले ३ हजार २ सयभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। लामो समयदेखि महासंघको विभिन्न समितिमा रहेर अनुभव सँगालेका श्रेष्ठ संगठनात्मक सुदृढीकरण र नीतिगत पैरवीमा अब्बल मानिन्छन् ।
अध्यक्षको कार्यभार सम्हाल्दै गर्दा श्रेष्ठले आफ्नो तीन वर्षे कार्यकालको प्राथमिकता सार्वजनिक गरेका छन्। पछिल्लो समय खस्किएको व्यवसायीको मनोबल उठाउनु र अर्थतन्त्रलाई चलायमान बनाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
“अर्थतन्त्रमा ८२ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्र अब सरकारको ‘सहयात्री’ मात्र होइन, ‘साझेदार’ बन्नुपर्छ,” उनले भने । उनले स्थिर सरकारबाट नीतिगत स्थिरताको अपेक्षा गर्दै निजी क्षेत्र पनि उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । श्रेष्ठले राजस्व र खर्चबीचको खाडल पुर्ने, कर्जा प्रवाह सहज बनाउने र युवाको आकांक्षालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने आफ्नो योजना रहेको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले मुलुकको वर्तमान आर्थिक अवस्थालाई अवसर र चुनौती दुवैका रूपमा लिएका छन् । “विदेशी मुद्राको सञ्चिति बलियो हुनु र सरकार सुशासनमा प्रतिबद्ध देखिनु हाम्रा लागि सकारात्मक पक्ष हुन्,” उनले भने । तर, पश्चिम एसियाको अस्थिरताले इन्धन आपूर्ति र मूल्यवृद्धिमा पार्न सक्ने असरलाई उनले चुनौतीका रूपमा औँल्याएका छन् ।
सरकारले व्यावसायिक वातावरण निर्माण गरिदिने हो भने अर्थतन्त्रलाई गति दिने जिम्मा निजी क्षेत्रले लिने उनको दाबी छ । महासंघलाई थप उचाइमा पुर्याउने र सरकारसँग हातेमालो गर्दै सुस्त भएको आर्थिक गतिविधिलाई तीव्रता दिने चुनौती अब अध्यक्ष श्रेष्ठको काँधमा आएको छ ।