पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्त को नाम, तस्वीर तथा प्रतिष्ठासँग जोडेर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मिति २०८३ वैशाख २६ गते जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त सामग्रीमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरिएको छ ।
सचिवालयका अनुसार अनलाइनमा उल्लेख गरिएका व्यवसाय तथा व्यावसायिक संस्थासँग माननीय पन्तको कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा बिना प्रमाण व्यक्तिको नाम, तस्वीर तथा सार्वजनिक छविलाई जोडेर गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको उल्लेख गरिएको छ । यस्ता आधारहीन सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुर्याउने प्रयास गरेको सचिवालयको भनाइ छ ।
सचिवालयले यस्ता सामग्री निर्माण, प्रकाशन, शेयर तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल सामग्री हटाउन, गलत प्रचार रोक्न तथा सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।
साथै, उक्त गतिविधिविरुद्ध नेपालको संविधान, विद्युतीय कारोबार ऐन, मुलुकी अपराध संहितालगायत प्रचलित कानुनअनुसार कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको जानकारी पनि दिइएको छ ।
सचिवालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अपुष्ट तथा भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।
