साताअघि बाराको निजगढ बजार स्थित राजमार्गमा एक बाँदर घाइते अवस्थामा फेला पर्यो। स्थानीयबाट सूचना पाएलगत्तै पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत आधाभार कार्यालयमा रहेको ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ घटनास्थल पुग्यो। टोलीले घाइते बाँदरको उपचार गरी पुनः प्राकृतिक बासस्थानमा छोडेको छ।
वन्यजन्तु संरक्षण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निकुञ्ज प्रशासनले वैशाख पहिलो साता वन्यजन्तु सप्ताहको अवसरमा उक्त उद्धार टोली गठन गरेको हो। यसअघि वन्यजन्तुको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको सहायता लिनुपर्ने अवस्था थियो। आफ्नै उद्धार टोली सक्रिय भएपछि उपचार तथा उद्धार कार्य छिटो र सहज भएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार टोलीमा पशु चिकित्सक, प्राविधिक, चालक तथा आवश्यक कर्मचारी परिचालन गरिन्छ। सूचना प्राप्त हुनासाथ टोली पर्सा, बारा, मकवानपुर र रौतहटसम्म पुग्ने गरेको उनले बताए।
चालु आर्थिक वर्षको चैतसम्ममा निकुञ्ज प्रशासनले विभिन्न स्थानबाट १ पाटेबाघ, ६ चित्तल, १ सयभन्दा बढी गोमनसहितका सर्प, २५ किंग कोब्रा, १५ अजिंगर, १ सालक तथा निलगाईसहित अन्य वन्यजन्तुको उद्धार गरी उपचारपछि प्राकृतिक बासस्थानमा छोडिसकेको जनाएको छ।
निकुञ्ज क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मा सवारी साधनको अत्यधिक चापका कारण वन्यजन्तु दुर्घटनामा पर्ने क्रम बढ्दो छ। चालु आवमा मात्रै सवारी दुर्घटना तथा अन्य कारणले १ चितुवा, २ जरायो, ५ चित्तल, १५ बाँदर र अन्य ३ वन्यजन्तु मरेको निकुञ्जले जनाएको छ।
वन्यजन्तु दुर्घटना न्यूनीकरण गर्न निकुञ्ज प्रशासनले वन्यजन्तु सप्ताहका अवसरमा सवारी चालक, सहचालक तथा ट्राफिक प्रहरीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कान्तिपुर