वीरगञ्ज महानगरपालिका–१२ मुर्लीस्थित विद्या सदन माध्यमिक विद्यालयमा एकदिने ईसीडी (Early Childhood Development) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विद्यालयको प्रारम्भिक तहका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो।
अभिमुखीकरण कार्यक्रममा प्रि–प्राइमरी तहमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षाको महत्व, बालमैत्री शिक्षण पद्धति, सिर्जनात्मक कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण–सिकाइ प्रक्रिया तथा बालबालिकाको समग्र विकाससँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षणका क्रममा सहभागी शिक्षक–शिक्षिकाहरू अत्यन्त उत्साहित देखिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले शिक्षण सीप, आत्मविश्वास तथा पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
विद्यालय प्रशासनका अनुसार प्रारम्भिक तहको शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएकाले यस तहका शिक्षकहरूको क्षमता विकासलाई विद्यालयले विशेष प्राथमिकतामा राखेको छ। साथै, यस्ता अभिमुखीकरण कार्यक्रमले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी, व्यवहारिक तथा बालकेन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
कार्यक्रममा प्रशिक्षक सरु पन्तले सहजीकरण गर्नुभएको थियो। उहाँले व्यवहारिक उदाहरण, अन्तरक्रियात्मक प्रस्तुति तथा अनुभवमा आधारित प्रशिक्षणमार्फत सहभागीहरूलाई प्रभावकारी ढंगले प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले प्रशिक्षक पन्तको प्रस्तुति शैली, विषयवस्तुको स्पष्टता तथा प्रेरणादायी प्रशिक्षणको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापन अवसरमा सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै विद्यालय परिवारको तर्फबाट प्रशिक्षक सरु पन्तलाई मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गरिएको थियो।