काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ।विश्लेषकहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनाव थप चर्किने र तेल आपूर्तिमा अवरोध आउने जोखिम बढेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिहरूले दिएको प्रतिक्रियालाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले इरानको पछिल्लो प्रस्ताव मन नपरेको बताएका हुन् ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले भने आइतबार सामाजिक सञ्जाल एक्समा इरान कुनै पनि दबाबसामु नझुक्ने बताएका छन् । उनले वार्ता वा संवादको अर्थ आत्मसमर्पण नभएको उल्लेख गरेका छन् ।
जापानी बैंक एमयुएफजीका विश्लेषक लोयड चानले ट्रम्पद्वारा प्रस्ताव अस्वीकार गरिनुले अमेरिका र इरानबीचको दूरी अझ स्पष्ट भएको बताएका छन् । उनका अनुसार यसले तत्काल तनाव कम हुने सम्भावना कमजोर बनाएको छ भने हर्मुज क्षेत्रमा थप अवरोध सिर्जना हुन सक्ने संकेत गरेको छ ।
तनावका बीच एसियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको निक्केई सूचक ०.४ प्रतिशत र हङकङको ह्याङ सेङ ०.३४ प्रतिशतले घट्दा दक्षिण कोरियाको कोप्सी सूचक भने करिब ४ प्रतिशतले बढेको छ ।
यसैबीच, जापानी गेमिङ कम्पनी निन्टेन्डोले अपेक्षाभन्दा कम नाफा हुने चेतावनी दिएपछि कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट भने चीन भ्रमणअघि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किने भएका छन् । उनले जापानमा प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने दक्षिण कोरियामा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग छलफल गर्ने तयारी रहेको जनाइएको छ । बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत ‘आर्थिक सुरक्षा नै राष्ट्रिय सुरक्षा’ भएको टिप्पणी गरेका छन् ।
अमेरिका र चीनबीच पछिल्लो समय व्यापार तथा निर्यात करलाई लिएर विवाद बढ्दै गएको छ । दुवै देशले एकअर्काका उत्पादनमा उच्च कर लगाउँदै आएका छन् भने गत वर्ष दक्षिण कोरियामा भएको भेटमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच व्यापार युद्ध अस्थायी रूपमा रोक्ने सहमति भएको थियो ।