प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।
हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’
अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३, सङ्खुवासभाका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, साथै दक्षिण कोरियाको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि स्नातकोत्तर गरेका छन्।
निजामती सेवामा २४ वर्षको अनुभव भएका उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।
संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो ।