बारा । मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्रमध्ये एक जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको जीतपुर बजार बिहीबार दिनभर तनावग्रस्त बनेको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ तथा सडक अतिक्रमण हटाउने अभियान हिंसात्मक बनेपछि नगर प्रहरी र स्थानीय साना व्यवसायीबीच झडप भएको हो ।
उपमहानगरपालिका–७ स्थित बजार क्षेत्रमा सडक मिचेर राखिएका ठेला तथा पसल हटाउने क्रममा विवाद सुरु भएको थियो । फुटपाथमा मकै, फलफूललगायत सामग्री बिक्री गर्दै आएका व्यवसायीहरूले उचित विकल्प र व्यवस्थापन बिना आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार विवाद चर्किंदै जाँदा स्थिति अनियन्त्रित बनेको थियो । सोही क्रममा एक आक्रोशित व्यवसायीले मकै पोल्न प्रयोग भइरहेको बलिरहेको आगो नगर प्रहरीतर्फ प्रहार गरेपछि तनाव थप बढेको थियो ।
झडपपछि आक्रोशित व्यवसायी र केही स्थानीयको समूह हातमा रड तथा घरेलु हतियार लिएर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका थिए । नगर प्रहरीको सुरक्षामा चुनौती देखिएपछि ईलाका प्रहरी कार्यालय जीतपुर बाट नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त प्रयासपछि केही घण्टापछि स्थिति नियन्त्रणमा आएको बताइएको छ । हाल जीतपुर बजारको अवस्था सामान्य बन्दै गएको स्थानीयले बताएका छन् ।
यद्यपि, सुरक्षाकर्मीको टोली फर्किएलगत्तै केही व्यवसायी पुनः साविककै स्थानमा व्यापार गर्न फर्किएका छन् । यसले उपमहानगरपालिकाको ‘क्लिन सिटी’ अभियान दिगो रूपमा कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा प्रश्न उठाएको छ ।
उपमहानगरपालिकाले भने बजार व्यवस्थापन तथा सडक अतिक्रमण नियन्त्रणको अभियान नरोकिने स्पष्ट पारेको छ । सार्वजनिक सम्पत्तिको संरक्षणका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तथा सरकारी काममा अवरोध पुर्याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ ।
प्रशासन र व्यवसायीबीच देखिएको टकरावले जीतपुर बजारको फुटपाथ व्यवस्थापनको दीर्घकालीन समाधान अझै अन्योलमै रहेको देखिएको छ ।