पर्सा, २ सबैया। पर्सागढी नगरपालिका वडा नं. ४ स्थित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक अध्यक्ष लखन लाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले वन संरक्षण, अतिक्रमण नियन्त्रण तथा समुदायको सहभागिता अभिवृद्धिसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
बैठकमा सबैया साझेदारी वन क्षेत्रभित्र अतिक्रमण गरी प्रयोग हुँदै आएको जग्गा खाली गराउने निर्णय गरिएको छ। वन क्षेत्रको संरक्षण गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
कार्यक्रममा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, उपाध्यक्ष असलम आलमसहित सदस्यहरू श्रवण प्रसाद साह, भैइया राम पटेल, नेसार अहमद, राजिव सरार्फ, सुरज कुर्मी, रिता देवी, राधिका लामा तथा शशि भुषण तिवारीलगायतको उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले वन अतिक्रमण नियन्त्रण, अवैध कटानी रोकथाम, वन क्षेत्रको संरक्षण तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न सामूहिक पहल आवश्यक रहेको धारणा राखेका थिए।
साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, वृक्षारोपण, जैविक विविधता संरक्षण, वन पैदावार व्यवस्थापन तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत वातावरणीय सन्तुलन कायम गर्ने कार्य गर्दै आएको छ। साथै वन क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै उपभोक्ताको हितमा कार्यक्रम सञ्चालन गर्नु समूहको मुख्य दायित्व रहेको बैठकमा उल्लेख गरिएको थियो।
बैठकले वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने, जनसहभागिता बढाउने तथा संरक्षण अभियानलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।