वीरगंज महानगरपालिका–८ पानीटंकीमा रहेको लिटिल बडी प्रि स्कुलमा आइतबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।वीरगंज कम्युनिटी आई सेन्टरको आयोजना तथा लिटिल बडी प्रि स्कुलको समन्वयमा आयोजित शिविरमा विद्यालयमा अध्ययनरत करिब १५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल विजय बलले जानकारी दिए।
प्रिन्सिपल बलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण अभिभावक तथा विद्यार्थीलाई सहज हुने उद्देश्यले शिविर आयोजना गरिएको बताए । नियमित पठनपाठनका कारण अन्य समयमा यस्ता कार्यक्रम सञ्चालन गर्न कठिन हुने भएकाले बिदाको अवसरलाई उपयोग गरिएको प्रिन्सिपल बलले बताए।
उनले पछिल्लो समय साना बालबालिकामा मोबाइल प्रयोगको बानी बढ्दै गएको र त्यसले आँखामा असर पार्ने भएकाले विद्यालयले समय–समयमा निःशुल्क आँखा शिविर आयोजना गर्दै आएको बताए।
शिविरमा परीक्षण गरिएका विद्यार्थीमध्ये आवश्यक परेकाहरूलाई निःशुल्क शल्यक्रिया तथा चस्मामा २५ प्रतिशत छुट उपलब्ध गराइने वीरगञ्ज कम्युनिटी आई सेन्टरका सञ्चालक महेश धामीले जानकारी दिए।
शिविरमा नेत्र चिकित्सक प्रभात चौरसिया र सृष्टि चौधरीले प्राविधिक सहयोग गरेका थिए।कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, कमल चौगाई, नरसिंह, श्रुति शाह, विद्यालय व्यवस्थापक सुप्रिया पौडेल, खुशी श्रेष्ठ, सिम्रन चौधरी, प्रीति गुप्ता तथा पत्रकार दीपु वर्णवाललगायतको उपस्थिति रहेको थियो।