वीरगञ्ज। रौतहटको माधवनारायण नगरपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ। विगत नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाको कार्यालय यस वर्षदेखि भने आफ्नै भवनबाट सञ्चालनमा आएको हो।
नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले भवन निर्माणका लागि १० कठ्ठा जग्गा दान गरेपछि प्रशासनिक भवन निर्माण सम्भव भएको हो। उहाँले माधवनारायण नगरपालिका–६, माधोपुर बजारस्थित आफ्नो नाममा रहेको पाँच कठ्ठा तथा आफूले सञ्चालन गरेको मठको नाममा रहेको थप पाँच कठ्ठा जमिन नगरपालिकालाई उपलब्ध गराउनुभएको थियो।
नगर प्रमुख यादवका अनुसार उक्त जग्गा नगरपालिकाको नाममा दर्ता गरी सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको हो। हाल सोही भवनबाट नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह भइरहेको छ। भवनमा सबै विषयगत शाखा, प्राविधिक सेवा तथा कार्यसमिति सम्बन्धी काम एउटै स्थानबाट सञ्चालन भइरहेका छन्।
नगर प्रमुख यादवले नगरको दीर्घकालीन विकास र सेवाग्राहीलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरिएको बताउनुभयो।
नगरपालिकाका इन्जिनियर नागेन्द्र यादवका अनुसार प्रशासनिक भवन करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। जसमध्ये माधवनारायण नगरपालिकाले करिब ६ करोड रुपैयाँ व्यहोरेको छ भने सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट थप ६ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यका कारण प्रशासनिक कार्य प्रभावकारी बनेको बताउनुभयो। आफ्नै भवन भएपछि सेवा प्रवाह र प्रशासनिक कामकाजमा सहजता आएको उहाँको भनाइ छ।
यसैबीच, रौतहटकै चन्द्रपुर नगरपालिकाले भने अझै आफ्नै प्रशासनिक भवनको अभाव झेलिरहेको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवनमा आगजनी भएपछि हाल चन्द्रपुर नगरपालिकाको कामकाज भाडाको घरबाट सञ्चालन भइरहेको छ। नगर प्रमुख सञ्जयकुमार काफ्लेले भवन पुनःनिर्माणका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।