वीरगन्ज- वीरगन्जबाट सोमबार बेलुकी पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्यविरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरेको छ।
प्रहरीले प्रसाईंलाई मंगलबार वीरगन्जमा हुने कार्यक्रमका लागि आएका बेला सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्दा प्रहरीले तत्काल कारण सार्वजनिक नगरे पनि पछि मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएको हो।
विज्ञप्तिअनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अमर्यादित अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बताएका थिए।
सोमबार साँझ करिब ८ बजे वडा प्रहरी कार्यालय वीरगन्जबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनका समर्थकहरूले विरोध जनाउँदा केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको थियो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।
यसअघि सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका प्रसाईंले पक्राउ पर्नुअघि सिद्धार्थ दियालो होटलमै पत्रकार सम्मेलन समेत गरेका थिए।