एजेन्सी । कंग्रेसनल रिसर्च सर्भिसको आधिकारिक प्रतिवेदन अनुसार, फेब्रुअरी २८ मा इरान विरुद्ध सुरु गरिएको डोनल्ड ट्रम्पको बृहत् सैन्य अभियान अपरेसन एपिक फ्युरीका क्रममा लडाकु विमान, इन्धन भर्ने विमान र ड्रोनसहित कम्तीमा ४२ वटा अमेरिकी सैन्य विमानहरू नष्ट भएका वा क्षतिग्रस्त भएका छन् ।
मागा प्रमुखको यस सैन्य कारबाहीले तेहरानलाई क्रुद्ध बनायो र इरानले तुरुन्तै जवाफी कारबाही गर्यो । यसले उक्त क्षेत्रलाई तनावपूर्ण बनाउनुका साथै संकटलाई अझ गहिरो बनाएको छ ।
वर्गीकरण, जारी युद्ध गतिविधि र क्षतिको विवरण पुष्टि गर्ने क्रममा क्षतिग्रस्त वा नष्ट भएका विमानहरूको संख्या अझै परिवर्तन हुन सक्ने प्रतिवेदनमा भनिएको छ ।
रिपोर्ट गरिएका क्षतिहरूमा चारवटा एफ–१५ई स्ट्राइक इगल लडाकु विमान, एउटा एफ–३५ए लाइटनिङ २ लडाकु विमान, एउटा ए–१० थन्डरबोल्ट २ ग्राउन्ड–अट्याक विमान, सातवटा केसी–१३५ स्ट्य्राटोट्यांकर ९आकाशमै इन्धन भर्ने विमान, एउटा ई–३ सेन्ट्री अवाक्स विमान, दुईवटा एमसी–१३जे कमान्डो २ विशेष अपरेसन विमान, एउटा एचएच–६०डब्ल्यू जोली ग्रीन २ हेलिकप्टर, २४ वटा एमक्यू–९ रिपर ड्रोन र एउटा एमक्यू–४सी ट्राइटन ड्रोन रहेका छन्
अमेरिकी संसद् र संसद्का समितिहरूलाई नीतिगत र कानुनी विश्लेषण उपलब्ध गराउने संस्था सीआरएसले सञ्चारमाध्यमका रिपोर्टहरूका साथै रक्षा मन्त्रालय र अमेरिकी सेन्ट्रल कमान्डका बयानहरू प्रयोग गरेर यी तथ्यांकहरू संकलन गरेको हो ।
मे १२ मा भएको हाउस एप्रोप्रिएसन उपसमितिको सुनुवाइका क्रममा पेन्टागनका कार्यवाहक कन्ट्रोलर जुल्स डब्लु हर्स्ट तृतीयले इरानमा अमेरिकी सैन्य कारबाहीको अनुमानित लागत २९ अर्ब डलर पुगेको बताए ।
‘यो लागत वृद्धिको ठूलो हिस्सा उपकरणहरूको मर्मत वा प्रतिस्थापन लागतको परिष्कृत अनुमानबाट आएको हो,’ उनले भने ।
यस द्वन्द्वले अमेरिकाको सैन्य सञ्चालन र प्रतिस्थापन लागतमा तीव्र वृद्धि ल्याएको छ जसको ठूलो हिस्सा क्षतिग्रस्त वा नष्ट भएका सैन्य उपकरणहरूको मर्मत र नयाँ खरिदसँग जोडिएको छ । २९ अर्ब डलरको संशोधित लागतले युद्धको स्केल र यसमा संलग्न उच्च मूल्यका सम्पत्तिहरूको प्रकृतिलाई झल्काउँछ ।
यो अभियान जारी रह्यो भने द्वन्द्वको दीर्घकालीन लागत अझ धेरै बढ्न सक्ने अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरू र रक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् । यसको ठूलो हिस्सा मिसाइल भण्डार पुनः भर्न, गुमेका विमानहरू प्रतिस्थापन गर्न र निरन्तर जलसैनिक तथा हवाई सञ्चालन कायम राख्न खर्च हुनेछ ।
राष्ट्रपति ट्रम्पले आर्थिक वर्ष २०२७ का लागि १५ खर्ब डलरको रक्षा बजेट प्रस्ताव गरेका छन् जुन आर्थिक वर्ष २०२६ को बजेटभन्दा करिब ४२–४४ प्रतिशतले बढी हो । यो स्वीकृत भएमा आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा ठूलो बजेट वृद्धिमध्ये एक हुनेछ ।
पेन्टागनले पश्चिम एसियामा जारी सैन्य कारबाहीका कारण हतियारको मौज्दात पुनः भर्न र हतियार उत्पादनलाई तीव्र बनाउन थप २०० अर्ब डलरभन्दा बढीको कोष पनि माग गरेको बताइएको छ ।