वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रवार) विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी काङ्ग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।
विश्वासको मत लिने पूर्व सन्ध्यामा मधेसको सत्ता समीकरण पनि फेरिएको छ । जसपा नेपाल, जनमत पार्टी, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको काँग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो । जसपालाई सरकारबाट बाहिर निकालिएको छ भने जनमतका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
हाल मधेस प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन् । काँग्रेसको २२, एमालेको २४, जनमतको १२, नेकपाको १५, जसपा र लोसपा नेपालको २६, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद छन् । यसअघि, मधेस प्रदेशसभामा १०७ जना सांसद थिए ।
लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बित छन् भने जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए । नेकपा एमालेका रामचन्द्र मण्डल पनि प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सभाबाट राजीनामा गरेका थिए ।