८ जेठ, कलैया (बारा) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्लाका संस्थापक सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी हित विपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुशासन आयोगको कडा सिफारिसपछि केन्द्रीय समितिले स्वर्णकारमाथि कारबाहीको डण्डा चलाएको हो ।
रास्वपा केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठद्वारा जारी गरिएको आधिकारिक पत्रअनुसार गत २०८३ वैशाख ३० गते बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले स्वर्णकारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने कठोर निर्णय गरेको हो ।
बारा जिल्ला निवासी चन्दन स्वर्णकार रास्वपाको स्थापनाकालदेखि नै मधेश प्रदेश, खास गरी बारा जिल्लामा पार्टी सङ्गठन विस्तार गर्ने मुख्य खम्बा मानिन्थे । उनले स्थापनाकालदेखि नै जिल्ला संयोजक (सभापति) को रूपमा कमाण्ड सम्हाल्दै नयाँ पुस्ताका युवाहरूलाई पार्टीमा आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
वैकल्पिक राजनीतिको नारा लिएर जिल्लामा संगठन खडा गरेका पहिलो पुस्ताकै नेतामाथि केन्द्रले नै डण्डा चलाएपछि बाराको राजनीतिक वृत्त र पार्टीका स्थानीय कार्यकर्ताहरू माझ यसलाई निकै चासो र आश्चर्यका साथ हेरिएको छ ।
पार्टी स्रोतका अनुसार स्वर्णकारले पछिल्लो समय दलको आन्तरिक मर्यादा, अनुशासन र हित विपरीतका गतिविधिहरू गरिरहेको उजुरी जिल्ला र प्रदेश तहबाट केन्द्रमा पुगेको थियो । सोही उजुरीमाथि छानबिन गरी केन्द्रीय अनुशासन आयोगले दिएको प्रतिवेदन र कारबाहीको सिफारिसका आधारमा केन्द्रीय समितिले सदस्यता नै खारेज गर्ने अन्तिम निर्णय लिएको हो ।
केन्द्रले गरेको यस कडा निर्णयको आधिकारिक बोधार्थ रास्वपा मधेश प्रदेश समिति र राष्ट्रिय स्वतन्त्र पार्टीको बारा जिल्ला समितिलाई समेत पठाइसकिएको छ ।