बीरगन्ज - विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी नेपाल हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। बीरगन्जको माईस्थान अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।
विश्व हिन्दू परिषद् बीरगन्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारलाई उक्त ज्याकेटहरू हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हिन्दू पत्रकार संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई ज्याकेट लगाइदिएर सम्मान समेत गरिएको थियो।
सोही अवसरमा लामो समयदेखि बीरगन्जलाई आफ्नो कर्मक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसियालाई हिन्दू पत्रकार संघमा आबद्ध गराइएको छ। नवआबद्ध पत्रकार चौरसियालाई संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफले संगठनको प्रेश ज्याकेट लगाइदिएर संस्थामा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् बीरगन्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको सुरक्षा र पहिचानमा सहयोग पुगोस् भन्ने उद्देश्यले ज्याकेट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो “मुलुक र समाजको रूपान्तरणमा पत्रकारहरूको भूमिका सधैं अग्रपंक्तिमा रहन्छ। कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूलाई सहज होस् र उहाँहरूको छुट्टै पहिचान झल्कियोस् भनेर परिषद्को तर्फबाट यो सानो सहयोग गरेका हौं। आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न हामी तयार छौं।”
त्यसैगरी, ज्याकेट ग्रहण गर्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले सहयोगका लागि परिषद्लाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नवआबद्ध पत्रकार चौरसियालाई संगठनमा स्वागत गर्दै भन्नुभयो”विश्व हिन्दू परिषद्ले पत्रकारहरूको भावना र आवश्यकतालाई बुझेर जुन सहयोग गरेको छ, त्यसका लागि हामी आभारी छौं। यो ज्याकेट केवल एउटा कपडा मात्र नभएर कार्यक्षेत्रमा हाम्रो जिम्मेवारी र पहिचानको प्रतीक पनि हो। यस्ता सहयोगले श्रमजीवी पत्रकारहरूलाई थप उर्जाका साथ आफ्नो धर्म र कतर्व्य निर्वाह गर्न हौसला मिल्नेछ। साथै, आजैका दिन संगठनमा दीपक चौरसियाजी जस्तो उर्जावान् पत्रकार जोडिनुहुँदा संगठनलाई थप मजबुती मिलेको महसुस भएको छ।”
हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।