वीरगञ्ज- नेकपा एमाले पर्सा जिल्ला क्षेत्र नं. १ को क्षेत्रीय समितिको चुनावी समीक्षा बैठक भव्य रूपमा सम्पन्न भएको छ। क्षेत्रीय अध्यक्ष मानदेव हजराको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यता रहेको थियो।
बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेश सदस्य अनिल कुमार हजरा, बासदेव यादव लगायत क्षेत्रका विभिन्न वडा कमिटी अध्यक्ष तथा पार्टीका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा पछिल्लो निर्वाचनको समग्र समीक्षा गर्दै संगठनलाई अझ सशक्त, चलायमान र जनमुखी बनाउने रणनीतिमाथि गम्भीर छलफल भएको थियो। सहभागी नेताहरूले पर्सामा एमालेप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा क्षेत्र न. १ लाई एमालेको बलियो किल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रमुख अतिथि प्रभु हजराले आफ्नो मन्तव्यका क्रममा एमालेमाथि विभिन्न शक्तिहरूले योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास गरे पनि जनताले विकास, स्थिरता र राष्ट्रहितको पक्षमा एमालेलाई नै रोजिरहेको दाबी गरे।
उनले भने,“नेकपा एमालेमाथि आक्रमण गर्नेहरू असफल भइसकेका छन्। जनताले अब नारामात्र होइन, काम खोजिरहेका छन्, र काम गर्ने शक्ति एमाले बाहेक अर्को छैन।
नेता हजराले एमाले नै मुलुकको आर्थिक समृद्धि, सुशासन र राष्ट्रिय स्वाभिमानको प्रमुख शक्ति भएको उल्लेख गर्दै संगठन विस्तारलाई तीव्र बनाउन घरदैलोदेखि जनताको हरेक समस्यासँग जोडिन कार्यकर्ताहरुलाई निर्देशन दिँदै पार्टीको नीति, विचार र उपलब्धिलाई जनस्तरसम्म पुर्याउन आग्रह गरे। “एमालेविरुद्ध भ्रम छर्ने तत्वहरूलाई जनताले नै जवाफ दिनेछन्,” उनले थपे।
मधेस प्रदेश उपाध्यक्ष विचारी यादवले मधेसमा एमालेप्रति युवापुस्ताको आकर्षण बढिरहेको दाबी गरे।
बैठकले संगठन विस्तार, सदस्यता अभिवृद्धि, वडा तहसम्म पार्टी संरचना सक्रिय बनाउने तथा आगामी राजनीतिक अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय समेत गरेको जनाइएको छ।