भारतको दिल्लीबाट ठूलो परिमाणमा चोरी गरिएको धनसम्पत्ति नेपाल भित्र्याएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ले हिरामोती, सुनचाँदीका गरगहना, महँगा घडी तथा नगदसहित करिब २ करोड १० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार तीन महिना अघि भारतको दिल्लीस्थित राजेन्द्रनगरमा रहेका संजयकुमार मखीजको घरबाट ठूलो परिमाणमा धनसम्पत्ति चोरी भएको थियो। चोरीमा संलग्न बाजुराको बुढीगङ्गा नगरपालिका–१० का उपेन्द्र रावतसहितको समूह सामान लिएर फरार भएको थियो। पीडितले नेपाल प्रहरीमा उजुरी दिएपछि प्रदेश प्रहरी कार्यालय धनगढीले विभिन्न जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी अनुसन्धान थालेको थियो।
लामो अनुसन्धानपछि प्रहरीले विभिन्न स्थानबाट बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी, अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनार तथा उपेन्द्र रावतलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले चोरीका सामान उनीहरूले आफन्तको घरमा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाही ले पक्राउ परेकाहरूबाट बरामद गरिएका सामान उजुरीकर्तालाई बुझाइसकिएको जानकारी दिए।
प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमबहादुर राना का अनुसार बरामद गरिएका सामानमा १ करोड ३४ लाख रुपैयाँ बराबरका १२ वटा महँगा घडी, ४३ लाख ३३ हजारभन्दा बढी मूल्यका सुनका गरगहना, १५ लाख ५६ हजार बराबरका हिरा तथा सुनका औँठी, २ लाख १५ हजारभन्दा बढीका चाँदीका गरगहना र करिब ३ लाख रुपैयाँ बराबरको सुन रहेका छन्।
यसैगरी, पक्राउ परेकाहरूको साथबाट १२ लाख ९० हजार नेपाली रुपैयाँ नगद तथा विभिन्न देशका मुद्रा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी भने अझै फरार रहेका छन्। बरामद गरिएको सम्पत्तिभन्दा अझै धेरै धनसम्पत्ति उनीहरूसँग हुन सक्ने आशंका गरिएको छ। प्रहरीले फरार आरोपीको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।