काठमाडौं— भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादभन्दा माथि उठाएर विकास, लगानी, व्यापार र आर्थिक साझेदारीमा आधारित बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत उनले नेपाल–भारत सम्बन्धको परम्परागत शब्दावली परिवर्तन गरी “विकास कूटनीति” को नयाँ ढाँचामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्। उनले दुई देशबीचको सम्बन्धलाई राजनीतिक तनावको साटो आर्थिक सहकार्य, ऊर्जा, पर्यटन र लगानीमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
पाँचदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। उक्त भेटमा लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमा लामिछानेले नेपाल–भारत सहकार्यका लागि आठ प्रमुख प्रस्ताव अघि सारेका छन्।
१. सीमा विवाद समाधानका लागि संवाद
नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्ने उल्लेख गर्दै उनले सीमा लगायतका विवादलाई संवाद, ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्ने बताएका छन्। अतिराष्ट्रवादी भाषणभन्दा व्यवहारिक समाधानमा जोड दिनुपर्ने उनको धारणा छ।
२. रक्सौल–काठमाडौं रेलमार्गलाई प्राथमिकता
उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई दुई देशबीचको सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा उल्लेख गरेका छन्। उक्त परियोजना सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा उल्लेखनीय परिवर्तन आउने उनको विश्वास छ।
३. पोखरा र लुम्बिनीबाट भारतमा सीधा उडान
नेपाल–भारत हवाई सम्पर्क विस्तार गर्दै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरमा प्रत्यक्ष उडान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।
४. ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’
सूचना प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्न ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ को अवधारणा अघि सार्दै उनले डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत साना उद्यमीलाई सशक्त बनाउन सकिने बताएका छन्।
५. भारतीय शैक्षिक र स्वास्थ्य संस्थाको विस्तार
भारतीय आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर तथा प्रविधि हब स्थापना गर्न आह्वान गर्दै उनले आईआईटी र एम्सजस्ता प्रतिष्ठित संस्थाहरू नेपालमा विस्तार गर्न सकिने बताएका छन्।
६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिन सुझाव दिँदै उनले नेपाल–भारत सीमाक्षेत्रमा संयुक्त रूपमा रासायनिक मल उद्योग स्थापना गर्न सकिने प्रस्ताव गरेका छन्। यसले कृषि उत्पादन र आपूर्ति शृंखलालाई बलियो बनाउने उनको विश्वास छ।
७. ऊर्जा बजार एकीकरण
नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्ने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजार निर्माण, आधुनिक डिजिटल जाँच चौकी (आईसीपी) र सहज ट्रान्जिट प्रणालीको विकासमा जोड दिएका छन्।
८. आईपीएलमा नेपाली सहभागिता विस्तार
खेलकुदलाई पनि द्विपक्षीय सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र नभई नेपाली रंगशालासमेत आईपीएल संरचनासँग जोडिन सक्ने सम्भावनाबारे चर्चा गरेका छन्।
लेखको अन्त्यमा लामिछानेले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमालाई “अवरोध होइन, पुल” बनाउने दृष्टिकोण प्रस्तुत गरेको स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई विगतका आशंकाभन्दा साझा भविष्यका अवसरले परिभाषित गर्नुपर्ने बताएका छन्।
साथै, नेपालमा आएको राजनीतिक परिवर्तनलाई उनले “ब्यालट बक्स क्रान्ति” को संज्ञा दिँदै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीतिको अपेक्षा गरेको दाबी गरेका छन्।