पछिल्ला केही दिनयता महोत्तरीसहित तराई–मधेस क्षेत्रमा बढेको अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ। बढ्दो तापक्रमले विशेषगरी बालबालिकाको स्वास्थ्यमा जोखिम बढाएको भन्दै बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बिहीबार र शुक्रबार नगर क्षेत्रका सम्पूर्ण सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरू बन्द रहनेछन्। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आकस्मिक रूपमा यो निर्णय गरिएको उनले बताए।
बर्दिबास महोत्तरीकै सबैभन्दा बढी विद्यालय रहेको स्थानीय तह हो। यहाँ ५५ वटा सामुदायिक विद्यालयसहित ८० भन्दा बढी शैक्षिक संस्था सञ्चालनमा छन्।
महोत्तरीमा गत शनिबारदेखि तापक्रम उल्लेखनीय रूपमा बढेको छ। दैनिक रूपमा मध्यान्हतिर तापक्रम ३८ डिग्री सेल्सियस आसपास पुग्न थालेपछि जनजीवन कष्टकर बनेको छ।
यसैबीच, गत आइतबार गौशाला नगरपालिका–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा सञ्चालन भइरहेका बेला अत्यधिक गर्मीका कारण १० जना छात्रा बेहोस भएका थिए। उनीहरूको तत्काल उपचार गरिएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको विद्यालय प्रशासनले जनाएको छ।
बढ्दो गर्मीका कारण जिल्लाका अन्य स्थानीय तहहरूमा पनि विद्यालय बन्द गर्ने विषयमा छलफल सुरु भएको छ। मटिहानी नगरपालिकाले समेत मौसममा सुधार नआए बालबालिकाको सुरक्षाका लागि आवश्यक निर्णय लिन सकिने जनाएको छ।
शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख निर्मल घिमिरेका अनुसार हालसम्म बर्दिबास नगरपालिकाले मात्र विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरेको छ भने अन्य स्थानीय तहबाट त्यस्तो सूचना जारी भएको छैन।
प्रचण्ड गर्मी र तातो हावाका कारण जिल्लाका बजार क्षेत्र, सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरूमा सर्वसाधारणको आवागमनसमेत घटेको छ। दिउँसोको समयमा सडकहरू सुनसान देखिन थालेका छन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र दैनिक श्रम गर्ने मजदुरहरू बढी प्रभावित हुन सक्ने बताएका छन्। स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन र झोलिलो खानेकुरा सेवन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।