वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २४ ज्योतिनगरस्थित लिटिल एन्जल बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूले विपश्यना ध्यान केन्द्रको शैक्षिक अवलोकन तथा ध्यान अभ्यास गरेका छन् । विद्यार्थीहरूलाई आत्मअनुशासन, मानसिक एकाग्रता तथा ध्यानसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
अवलोकन भ्रमणका क्रममा विद्यार्थीहरूले विपश्यना ध्यान पद्धतिबारे जानकारी प्राप्त गरेका थिए । विशेषगरी ‘आनापान ध्यान’ (अनापना मेडिटेसन) सम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरूले श्वासप्रश्वासको सचेत अभ्यासमार्फत मनलाई शान्त, एकाग्र तथा सकारात्मक बनाउन सकिने जानकारी दिएका थिए ।
ध्यान केन्द्रका प्रशिक्षकहरूले नियमित ध्यान अभ्यासले विद्यार्थीहरूको अध्ययनप्रति ध्यान केन्द्रित गर्न, तनाव व्यवस्थापन गर्न तथा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि ध्यान अभ्यासको अनुभव प्रेरणादायी तथा उपयोगी रहेको प्रतिक्रिया दिएका थिए ।
विद्यालय प्रशासनका अनुसार यस्ता शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइनेछ ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिङले विपश्यना ध्यान केन्द्रको अवलोकन तथा आनापान ध्यान अभ्यासबाट विद्यार्थीहरूले मानसिक स्वास्थ्य, आत्मनियन्त्रण र अनुशासित जीवनशैलीबारे महत्वपूर्ण ज्ञान हासिल गरेको बताउनुभयो । उहाँले यस्ता आध्यात्मिक तथा नैतिक शिक्षामूलक कार्यक्रमले विद्यार्थीहरूमा शान्ति, सकारात्मक सोच तथा व्यवहारिक ज्ञानको विकास हुने भएकाले विभिन्न रचनात्मक क्रियाकलापमा विद्यार्थीहरूको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।