उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले जेठ १७ गते जारी गरेको विज्ञप्तिपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पर्सा र बारामा खाद्य स्वच्छता अनुगमन तीव्र बनाएको छ। विभागले “मोबाइल फुड ल्याब भ्यान” परिचालन गरी विभिन्न होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा अनुगमन गर्दा अधिकांश व्यवसायले न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज, अमलेखगञ्ज, निजगढ र कलैयाका विभिन्न व्यवसायमा किचेन सरसफाइ, खाद्य सामग्री भण्डारण, प्रयोग गरिएको तेलको गुणस्तर, कामदारको व्यक्तिगत सरसफाइ, डस्टविन व्यवस्थापन तथा खाद्य सुरक्षा मापदण्डको अवस्थाबारे निरीक्षण गरेको थियो।
वीरगञ्जस्थित अनमोल स्विट्स, होटल मकालु प्रालि, होटल पुजन प्रालि र मेजवानी स्विट्समा गरिएको अनुगमनका क्रममा सरसफाइको अवस्था कमजोर रहेको, खुला डस्टविन प्रयोग गरिएको, खाद्य सामग्री असुरक्षित ढंगले राखिएको तथा अत्यधिक पटक तताइएको तेल प्रयोग गरिएको भेटिएको विभागले जनाएको छ। मापदण्डविपरीत प्रयोग भइरहेको तेल नष्ट गर्नुका साथै सम्बन्धित व्यवसायलाई तत्काल सुधारका लागि निर्देशन दिइएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले गत वर्ष होटल तथा रेस्टुरेन्टहरूको स्तरियकरण गरिए पनि अधिकांश व्यवसायमा अपेक्षित सुधार नदेखिएको बताउनुभयो। उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले बारम्बार चेतावनी दिँदा पनि व्यवसायीले अटेर गरिरहेको भन्दै प्रभावकारी कानुनी कारबाही आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यसअघि विभागको मोबाइल खाद्य ल्याब भ्यानले अमलेखगञ्ज, निजगढ तथा बाराका विभिन्न होटल तथा रेस्टुरेन्टमा पनि अनुगमन गरेको थियो। अमलेखगञ्जका जर्गा होटल, मेची होटल, कल्पवृक्ष होटल, होटल लम्साल तथा निजगढका होटल रुद्राक्ष, चंकि रेस्टुरेन्ट, हाईवे फुड ल्यान्ड रेस्टुरेन्ट र होटल राजमार्गमा सरसफाइ कमजोर, खुला डस्टविन प्रयोग तथा अत्यधिक पटक तताइएको तेल प्रयोग भएको पाइएको थियो।
शनिबार कलैयास्थित न्यु कृष्ण स्विट्स, सिद्धु सिद्धार्थ स्विट्स, माँ अन्नापूर्ण स्विट्स र केशर स्विट्समा गरिएको अनुगमनका क्रममा पनि अधिकांश पसलमा कामदारले हेडनेट प्रयोग नगरेको, तेल धेरै पटक तताइएको तथा खाद्य सामग्री असुरक्षित रूपमा राखिएको भेटिएको बारा उपभोक्ता अधिकारकर्मी अरुण खनालले जानकारी दिनुभयो।
अनुगमन टोलीमा विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षक जगत प्रकाश चौधरी, श्रवण साह, उपभोक्ता अधिकारकर्मी प्रकाश कुमार शाह तथा पत्रकार अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
उपभोक्ताहरूले खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड उल्लंघन गर्ने होटल, रेस्टुरेन्ट र मिठाई पसलमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। बारम्बार चेतावनीपछि पनि सुधार नगर्ने व्यवसायीलाई जरिवाना, स्तर घटाउने तथा आवश्यक परे सञ्चालन अनुमति खारेज गर्नुपर्ने उनीहरूको माग छ।