नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघ पर्सा शाखाले सरकारी निर्णयविरुद्ध संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।
एक सातासम्म महासंघ पर्साको कार्यालयमा संकलन गरिएको हस्ताक्षर सोमबार दिउँसो पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल र कृष्णा थापामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो ।
महासंघ पर्साका सचिव बिजय चौहानको नेतृत्वमा गएको टोलीले सरकारी विज्ञापन तथा सार्वजनिक सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र तत्काल खारेज गर्न माग गरेको छ। साथै प्रेस स्वतन्त्रताको संरक्षण, संविधान संशोधनका विषयमा सर्वपक्षीय कार्यदल गठन तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघले आफ्ना माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट पारेको छ। साथै सञ्चार क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन पनि आह्वान गरेको छ।
हस्ताक्षर बुझाउने कार्यक्रममा प्रेस युनियनका श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष शंकर खतिवडा, प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्र, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल ,समाजवादी प्रेस संगठनका शम्भु सुमनलगायत पर्साका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
